कावासोती । दिवगंत हुनुभएका कावासोती वडा नम्बर एकका वडा अध्यक्ष तवारक अहमद मियाको परिवारलाई नगरपालिका परिवारको तर्फबाट सहयोग रकम प्रदान गरिएको छ । कावासोती नगरपालिकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्ष तथा सदस्यहरूको तर्फबाट चार लाख १० हजार रुपियाँ र नगरपालिकाका कर्मचारीहरूको तर्फबाट एक लाख ६ हजार पाँच सय रुपियाँ गरेर पाँच लाख १६ हजार पाँच सय रुपियाँ रकम हस्तान्तरण गरिएको नगर प्रवक्ता तथा वडा नम्बर तीनका अध्यक्ष डोरमान गिरीले जानकारी दिनुभयो ।
बिहीबार कावासोती एक कोइलापानी स्थित मियाको निवासमा पुगेर दिवंगत मियाकी श्रीमतीलाई रकम हस्तान्तरण गरिएको हो । कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुसाल , प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल , विभिन्न वडाका वडा अध्यक्षहरू तथा वडा सदस्य र पालिकाका कर्मचारीहरूको सहभागितामा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
कावासोती नगरपालिका वडा नम्बर एकका अध्यक्ष तवारक अहमद मियाको गत माघ १९ गते राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशन चलेको समयमा हृदयाघातका कारण निधन भएको थियो । स्वागत मन्तव्य दिएर स्टेजबाट ओर्लिए लगत्तै कुर्चीमा लडेका उहाँलाई लगत्तै उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । मियाको उपचारको क्रममा दिउसो २ः ४२ बजे मृत्यु भएको थियो । ३७ वर्षका मियाका श्रीमती, ३ छोरी र १ छोरा रहेका छन् ।