आज:  २०८१ फागुन ७, बुधबार | Wed, 19, Feb, 2025 Search
FLASH NEWS

कृषिमा जोडिन चाहानुहुनेलाई सरकारको सहयोग रहनेछ : मन्त्री श्रेष्ठ

    प्रकाशित २०८१ माघ ३०, बुधबार (१ हफ्ता अघि)


नवलपुर । गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले उत्पादनको क्षेत्रमा जोडिनका लागी आह्वान गरकी छन् । कृषि प्रधान देश भएकाले उत्पादनमा जोडिन सक्दा मात्रै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउदै उनले कृषि उपजको उत्पादनमा सरकारको सहयोग रहने बताइन् ।

नवलपुर उद्योग वाणिज्य संघद्वारा आयोजित ८ औँ नवलपुर महोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘हामीलाई भूगोलले पनि साथ दिएको छ । मौसम अनुसारका उपज उत्पादनमा हामी जति सक्छौँ धेरै जोडिनुपर्दछ । उत्पादनमा जोडिन चाहानुहुने हरकोहीलाई सरकारले सहयोग गर्ने छ, हातेमालो गर्नेछ ।’ देशको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रबिच समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

‘पर्यटन कृषि उद्योग र व्यापारको उत्सवः समृद्ध नवलपुरका लागि आठौँ महोत्सव’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कृषि क्षेत्रका स्टलहरु पनि राखिएकोमा मन्त्री श्रेष्ठले आयोजकलाई धन्यवाद दिइन् । महोत्सवले निश्चित क्षेत्र मात्रै नभएर जिल्ला र प्रदेशमै आर्थिक गतिविधि चलायमान गराउन मद्धत पुग्ने उनको भनाई थियो ।

कावासोती १६ स्थित अंकुर सामुदायिक वन परिसरमा फागुन २५ देखि सुरु भएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

Write your Comment