देवचुली । चितवनको माडीमा संचालित आठौं माडी क्रिकेट कप अन्तरगत आइतबार भएको खेलमा देवचुली विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । बसन्तपुर युथ क्लबको आयोजनामा बसन्तपुर खेल मैदानमा भएको माडी क्रिकेट क्लबका विरुद्ध देवचुली नगरपालिका बीचको खेलमा देवचुली नगरपालिकाले ७६ रनको जित दर्ता गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको देवचुली नगरपालिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । १९३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा गरेको माडीले १३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन मात्र बनाएको थियो । आइतबार भएको खेलमा देवचुलीका अपरिचित पाैडेल म्यान अफ दि म्याच भएका थिए ।
८ टिमको सहभागितामा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको बिजेताले नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, कोच लगायतलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।