देवचुली । नवलपुर सेवा समाज युएईद्वारा देवचुली १७ वरटाँडीमा रहेको जीवन ज्योति आधारभूत विद्यालयमा अक्षयकोषको रकम हस्तान्तरण गरेको छ । विद्यालयमा भएको एक कार्यक्रममा देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेको रोहबरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर तामाङ र प्रधानाध्यापक मिना थापालाई नवलपुर सेवा समाज युएईका सल्लाहकार नरजित राना र संस्थापक केन्द्रिय सदस्य देव पुलामीद्वारा ३० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
नवलपुर घर भई वैदेशिक रोजगारका लागि युएईमा रहेका नेपालीहरुद्वारा शिक्षा क्षेत्रलाई विशेष ध्यान दिँदै आर्थिक अवस्था कमजोर भएका विपन्न एवम् जेहेन्दार विद्यार्थीहरुको लागि सहयोगार्थ अक्षयकोष स्थापना गरिएको नवलपुर सेवा समाज युएईका सल्लाहकार नरजित रानाले जानकारी दिनुभयो । समाजले नवलपुरका ८ वटा पालिकामै १/१ विद्यालयमा अक्षयकोष स्थापना गर्ने उद्देश्यले सुरु गरिएको अभियान अन्तरगत यस अघि मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाका ४ वटा विद्यालयमा ३०/३० हजारको अक्षयकोष स्थापना गरिएको समेत उहाँले बताउनुभयो । समाजमा आबद्ध सदस्यबाट मासिक लेबी र कार्यक्रम संचालनबाट बचत भएको रकमबाट अक्षयकोष स्थापना गरिएको रानाले बताउनुभयो ।
जीवन ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर तामाङको अध्यक्षतामा भएको अक्षयकोष हस्तान्तरण कार्यक्रममा देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नवलपुर सेवा समाज युएईका सल्लाहकार नरजित राना, संस्थापक केन्द्रिय सदस्य देव पुलामी, टोल विकास संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेले अरुको मुलुकमा दुख गरेर सबैबाट उठाएको लेबीबाट अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएकोमा नवलपुर सेवा समाज युएईलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । देवचुली १७ घर भई युएईमा रहनेहरुका लागि नवलपुर सेवा समाज युएईमा जोडिनका लागि वडाले समन्वय गर्ने उहाँले बताउनुभयो ।
नवलपुर सेवा समाज युएईद्वारा गरिएको सहयोगले विद्यालयका विद्यार्थीहरुलाई सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक मिना थापाले बताउनुभयो । विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई समाजको उद्देश्य अनुसार कोषको रकमबाट छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो ।