देवचुली । देवचुली नगरपालिकामा संचालित दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधि देवचुली १५ ले जितेको छ। देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा संचालन भएको प्रतियोगिता देवचुली १७ विरुद्ध भएको खेलमा विजयी हुँदै देवचुली १५ ले उपाधि रक्षा गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको देवचुली १५ ले ४० रनको जित निकालेको छ । देवचुली १५ का नरेश रानाभाटको नटआउट ४१ रन र रितिश गोविन्द श्रेष्ठको २८ रनको मदतले २० ओभरमा ४ विकेट गुमाउँदै १२६ रन बनाएको थियो । बलिङ तर्फ देवचुली १७ का विज्ञान गौतमले २ विकेट, राजु सापकोटा र शिशिर लामिछानेले १/१ विकेट लिएका थिए ।
१२७ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले १७ ले १० ओभरमा १० विकेट गुमाउँदै ८० रन बनाउँदै ४० रनको जित दर्ता गरेको हो । देवचुली १७ का विज्ञानराज गौतमले ५९ रन र शिशिर लामिछानेले ५ रन बनाएका थिए। बलिङ तर्फ देवचुली १५ का सागर जिसीले ३ विकेट र सन्देश भुसालले २ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १५ का रितिश गोविन्द श्रेष्ठ म्यान अफ दि म्याच भएका थिए ।
नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने देवचुली १५ ले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने देवचुली १७ ले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा देवचुली १५ का रितिश गोविन्द श्रेष्ठ उत्कृष्ट बलर, देवचुली १० का उत्कृष्ट ब्याट्सम्यान सोनु रेग्मी र देवचुली १२ का स्वागत पाण्डे उत्कृष्ट खेलाडी भएका थिए ।
देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईको अध्यक्षता भएको प्रतियोगिता समापन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल, देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल, देवचुली १५ का वडा अध्यक्ष सुरेश रानाभाट, देवचुली नगरपालिकाका कर्मचारीहरु, युवा तथा खेलकुद विकास समितिका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो । समापन कार्यक्रम देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समिति उपाध्यक्ष अमरबहादुर घर्ती मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सहजीकरण सदस्य सचिव प्रकाश काफ्लेले गर्नुभएको थियो ।