आज:  २०८१ माघ १७, बिहिबार | Thu, 30, Jan, 2025 Search
FLASH NEWS

नवलपुरका १७ हजार किशोरीलाई एचपीभी खोप लगाईने

    प्रकाशित २०८१ माघ १७, बिहिबार (८ घण्टा अघि)


नवलपुर । नवलपुरका १७ हजार किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाईने भएको छ । देशव्यापी अभियान अन्तरगत नवलपुर जिल्लामा यहि माघ २२ गते देखि फागुनको ६ गतेसम्म खोप लगाईने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र कुमार सिंहले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान चलाईने छ । जस अनुसार पहिलो चरणमा माघ महिनाको २२ गते देखि २८ गते सम्म गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकामा रहेका विद्यालयमा खोप केन्द्र निर्माण गरी खोप अभियान चलाइने छ । यस्तै दोस्रो चरणमा माघ २८ देखि फागुन ६ गतेसम्म कावासोती नगरपालिका, मध्यविन्दु नरपालिका सहित हुप्सिकोट गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिकामा खोप अभियान चलाईने छ ।

पाठेघरको क्यान्सर विरुद्धको खोप विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै छात्राहरु र विद्यालय बाहिरका १० बर्ष उमेर देखि १४ बर्ष उमेर सम्मका सबै छात्राहरुलाई लगाईने छ ।अभियानका लागि जिल्लामा कक्षा ६ देखि १० सन्चालन भएका २ सय ३० विद्यालय र ९० वटा स्वास्थ्य संस्था गरि कुल ३ सय २० खोप केन्द्र सञ्चालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र कुमार सिंहले बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले बिहीबार गरेको खोपको अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले खोपको बारेमा सबैलाई सहज जानकारी पुर्‍याउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।

Write your Comment