नवलपुर । गण्डकी प्रदेशमा राष्ट्रिय राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सुरू भएको प्रतियोगिताको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उदघाटन गर्नुभएको हो।
गोरखा गण्डकी गाउँपालिका वडा नं ६ फिस्लिङबाट प्रतियोगिता सुरू भएको हो । फिस्लिङबाट सुरु भएको प्रतियोगिताको बिहीबार देवघाट पुगेर समापन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा नेपाली विभागिय टोली नेपाल आर्मी क्लब र आयोजक गण्डकी प्रदेशको २–२ तथा कोशी प्रदेश, बागमती प्रदेश १–१ गरी कुल ६ टिमका ४२ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
नेपालका धार्मिक महत्वका नदी र तिनका संगम स्थलहरूको खेलमार्फत प्रवर्द्धन गर्न प्रतियोगिता सुरू गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो । खेलमार्फत समाजमा सचेतना जगाउनसंगै नेपाली नदीहरुलाई खेलमार्फत प्रवर्द्धन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
दुई चरणमा विभाजन गरी सुरू भएको प्रतियोगिता पहिलो दिन तनहुँ जिल्ला आँबुखैरेनी वडा नम्बर ५ छिम्केश्वरीमा पुगेर सम्पन्न भएको छ । पहिलो दिन खेलाडीहरूले त्रिशुली नदीबाट करिब २६ किमिको प्रतिष्पर्धा पुरा गरेका हुन् । बिहीबार बिहान पुनः सुरू हुने प्रतियोगिता दिउँसो तनहुँ जिल्लाको धार्मिक केन्द्र देवघाटमा पुगेर सम्पन्न हुनेछ।
र्याफ्टिङ प्रतियोगितामा प्रथमलाई ६० हजार, दोश्रोलाई ४० हजार, तेश्रोलाई २० हजार र सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार दिइने प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले बताउनुभयो । माघ १८ गते तनहुँको छिमेकेश्वरी क्याम्प देखि गैंडाकोटको नारायणी विच रिसोर्टसम्म कायाकिङ प्रतियोगिता हुने उहाँले बताउनुभयो । कायाकिङ प्रतियोगितामा प्रथमलाई ३० हजार, दोश्रोलाई २० हजार, तेश्रोलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ दिइने उहाँले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना, गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीलगायतको सहभागिता रहेको थियो ।