आज:  २०८१ माघ १७, बिहिबार | Thu, 30, Jan, 2025 Search
FLASH NEWS

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

    प्रकाशित २०८१ माघ १६, बुधबार (१ दिन अघि)


नवलपुर । नवलपुरको त्रिवेणीधाममा माघेऔँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ । आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको बिहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् ।

माघेऔँसीका दिन नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना गरेमा चिताएका पूरा हुने तथा पितृहरूले मोक्ष प्राप्त गर्ने जनविश्वास छ । मेलालाई व्यवस्थित गर्न विनयी त्रिवेणी गाउँपालिका– ६ का वडाध्यक्ष नुरेन्द्र शाहको संयोजकत्वमा गठित उपसमितिले आवश्यक व्यवस्था गरेको तथा सशस्त्र प्रहरी बलसहितको सुरक्षाकर्मीको टोली परिचालन गरेको छ ।

‘स्वर्ण भद्रा, पूर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीका घाटहरू स्नानका लागि व्यवस्थित बनाइएको छ,’ वडाध्यक्ष शाहले भने, ‘नारायणी नदीमा डुंगा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को लागेको छ ।’ श्रद्धालुहरू गएराति जागा भएर आज स्नानपछि पूजाअर्चना गरेर गन्तव्यतर्फ लागेका छन् । रासस

Write your Comment