नवलपुर । त्रिशुली नदी हुँदै नारायणी नदीमा राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसीप र राष्ट्रिय खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा माघ १६ गतेबाट १८ गतेसम्म प्रतियोगिता गर्न थालिएको हो।
फिस्लिङबाट माघ १६ गते बुधबारदेखि प्रतियोगिता सुरु हुनेछ। प्रतियोगिता तीन दिनसम्म चल्नेछ। फिस्लिङदेखि देवघाटसम्म ५० किलोमिटर दूरीमा र्याफ्टिङ प्रतियोगिता र तनहुँको छिमेकेश्वरी क्याम्प देखि गैंडाकोटको नारायणी विच रिसोर्टसम्म कायाकिङ प्रतियोगिता आयोजना गरिएको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयो ।माघ १६ गते फिस्लिङ्देखि सुरु हुने र्याफ्टिङ प्रतियोगिता पहिलो दिन सिमलतालमा रहने र दोस्रो दिन सिमलताल देखि देवघाटसम्म पुगेर सम्पन्न हुने साथै माघ १८ गते तनहुँको छिमेकेश्वरी क्याम्प देखि गैंडाकोटको नारायणी विच रिसोर्टसम्म कायाकिङ प्रतियोगिता हुने उहाँले बताउनुभयो ।‘साहसिक खेलमार्फत पर्यटक भित्र्याउन त्रिशुली र नारायणी नदीमा राष्ट्रिय स्तरको र्याफ्टिङ र कायाकिङ प्रतियोगिता आयोजना गर्दैछौं,’ शर्माले भन्नुभयो।
प्रतियोगिताका खेल संयोजक वसन्त दवाडीका अनुसार प्रतियोगितामा विभागीय टोली, प्रदेशका टिमहरु सहभागि हुनेछन। र्याफ्टिङ प्रतियोगितामा प्रथमलाई ६० हजार, दोश्रोलाई ४० हजार, तेश्रोलाई २० हजार र सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार दिइने र कायाकिङ प्रतियोगितामा प्रथमलाई ३० हजार, दोश्रोलाई २० हजार, तेश्रोलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ दिइने उहाँले बताउनुभयो । र्याफ्टिङमा स्प्रिन्ट, हेटटुहेड, स्लालम र डाउन रिभर विधामा प्रतियोगिता हुने आयोजकले जनाएको छ।