देवचुली । देवचुली नगरपालिकामा टोल विकास संस्थाका पदाधिकारीहरुका लागि नेतृत्व विकास र खानेपानी तथा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजनामा सेवा क्षेत्रभित्रका टोल विकास संस्थाका पदाधिकारीहरुलाई नेतृत्व विकास र खानेपानी तथा सरसफाइ सम्बन्धि अन्तरक्रिया गरिएको हो ।
देवचुली १० देखि १५ मा कार्यक्षेत्र रहेको खानेपानी संस्थाले प्रत्येक वडालाई पुर्ण धारा भएको वडा घोषणा पुर्व समुदायमा सरसफाइ सचेतना प्रवाह गर्नका लागि कार्यक्रम गरिएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दुर्गादेवी विष्टले जानकारी दिनुभयो । टोल विकास संस्थाका पदाधिकारीहरुको नेतृत्व विकास सँगै सरसफाइ अभियानलाई संचालन र सहकार्यका लागि टोल विकास संस्थासँग छ्लफल गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसालले नेतृत्व विकास, सरसफाइ अभियानमा टोल विकास संस्थाको भुमिका, खानेपानी व्यवस्थापन गर्नका लागि टोल विकास संस्थाले गर्न सक्ने भुमिका, समुदायमा सहज खानेपानी पुर्याउन समुदाय र खानेपानीबीच हुन सक्ने सहकार्य लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दुर्गादेवी विष्टको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरु, प्रगतिनगर खानेपानीका कार्यसमितिका पदाधिकारीहरु , कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन संस्थाका सचिव इन्द्रमणी भुसालले गर्नुभएको थियो ।