नवलपुर । मध्यबिन्दु नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।इन्सेक, जागृति बाल तथा युवा सरोकार नेपाल, ज्ञानोदय मावि तथा मध्यविन्दु नगरपालिकाको आयोजनामा सोमबार मध्यविन्दु १५ मा रहेको ज्ञानोदय माविमा कार्यशाला सम्पन्न भएको हो।
सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरण अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको इन्सेक जिल्ला सहजकर्ता राजु चापागाईले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा मानव अधिकार समुहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण तथा जातिय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गरिरहेको उहाँले बताउनुभयो ।
कार्यशालामा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले वातावरण संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । विद्यालयलाई वातावरण मैत्री बनाउन सरोकारवालाले खेल्नुपर्ने भुमिकाको बारेमा जानकारी गराउँदै उहाँले समुदायमा सरसफाइ र सचेतनाको अभियान विद्यालयबाट सुरु गर्नुपर्ने बताउनुभएको थियो । विद्यालय र समुदाया वातावरणका अधिकार क्षेत्रमा गर्नुपर्ने कार्यको बारेमा समेत सहजीकरण गर्नुभएको थियो ।
ज्ञानोदय मावि व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मध्यविन्दु नगरपालिकाका कार्यपालिका सदस्य कृष्णप्रसाद बिकको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि मध्यविन्दु १५ का कार्यवाहक वडा अध्यक्ष रामचन्द्र ज्ञवाली, वडा सदस्य अर्चना कुमाल, ज्ञानोदय मावि शिक्षक अभिभावक संघका अध्यक्ष पिताम्बर पाण्डे, विभिन्न संघसंस्थाका प्रतिनिधि, ज्ञानोदय बाल अधिकार समुहका अध्यक्ष शितल चौधरी, बाल क्लबका सदस्यहरु, शिक्षक, विद्यार्थी, स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिकले वातावरण संरक्षणका लागि सबै पक्ष सक्रिय भई सचेतनाका अभियान संचालन गर्नुपर्ने बताउनुभयो । घर, समुदायबाट नै फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बिकले बताउनुभयो ।
ज्ञानोदय मावि व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेले स्वागतसहित कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने प्रधानाध्यापक टोकबहादुर सुनारीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।