नवलपुर । नवलपुरमा १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता माघ १९ गतेदेखि सुरु हुने भएको छ । त्यसै गरि सातौं कावासोती नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता माघ १६ गतेबाट सुरु हुने भएको छ। कावासोती १ को जनकल्याण माध्यमिक विद्यालय रिठ्ठेपानीको खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।
नगरस्तरीय प्रतियोगिता कावासोती नगरपालिकाको आयोजना र जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा हुँदैछ भने जिल्लास्तरीय प्रतियोगिता जिल्ला खेलकुद विकास समितको आयोजना र जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापन हुँदैछ । नगरस्तरीय प्रतियोगिता माघ १६ गतेदेखि १८ गतेसम्म संचालन हुनेछ भने जिल्ला स्तरीय प्रतियोगिता माघ १९ गतेदेखि २२ गतेसम्म हुनेछ ।
यस वर्षबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकास्तरीय प्रतिष्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले जानकारी दिनुभयो । चार दिनसम्म चल्ने प्रतियोगितामा जिल्ला भरिका ८ वटा पालिकाबाट करिब ६ सय ५६ विद्यार्थी सहभागी हुने अध्यक्ष पुनले बताउनुभयो । प्रतियोगितामा सितारियो कराँते, तेक्वान्दो, एथलेटिक्स, भलिबल, कपर्दी अन्तरगतका खेलहरू सञ्चालन हुनेछन् । नवलपुरमा ८ वटा पालिकामध्ये ६ वटा पालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको र बुलिङटारमा प्रतियोगिता जारी रहेको उहाँले बताउनुभयो ।