आज:  २०८१ माघ १४, सोमबार | Mon, 27, Jan, 2025 Search
FLASH NEWS

कावासोतीमा संचालित अन्तर विद्यालय फुटबलको उपाधि शान्ति निकुञ्ज माविलाई

    प्रकाशित २०८१ माघ १२, शनिबार (१ दिन अघि)


देवचुली । कावासोती १२ मा संचालित कावासोती नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि शान्ति निकुञ्ज माविले जितेको छ । कावासोती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा कावासोती १२ को राजमन्दिर खेल मैदानमा संचालित प्रतियोगिता अन्तरगत शनिबार भएको सरस्वती नमुना मावि हसौराका विरुद्ध शान्ति निकुञ्ज माविबीच छात्र र छात्रा दुवै तर्फको फाइनल खेलमा शान्ति निकुञ्ज मावि विजयी भएको हो ।


प्रतियोगिताको छात्रातर्फ सरस्वती नमुना मावि हसौराका विरुद्ध शान्ति निकुञ्ज माविबीच भएको फाइनल खेलमा ट्राइबेकरमा ३-० गोल अन्तरले विजयी हुँदै शान्ति निकुञ्ज माविले उपाधी रक्षा गर्न सफल भएको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछी खेल ट्राइबेकरमा गएको थियो । फाइनल खेलमा शान्ति निकुञ्ज माविका गोलरक्षक दिया महतो म्यान अफ दि म्याच भएकी थिइन् ।

त्यसै गरि प्रतियोगिताको छात्रतर्फ सरस्वती नमुना मावि हसौराका विरुद्ध शान्ति निकुञ्ज माविबीच नै भएको फाइनल खेलमा शान्ति निकुञ्ज माविले २-० गोल अन्तरले विजयी हुँदै उपाधी जित्न सफल भएको हो । शान्ति निकुञ्ज माविबाट २ गोल गर्न सफल प्रशिसल खनाल फाइनल खेलको म्यान अफ दि म्याच भएका थिए ।


छात्र तर्फ १६ विद्यालय र छात्रा तर्फ ४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ विजेता शान्ति निकुञ्ज माविले नगद ३० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता सरस्वती नमुना मावि हसौराले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनलबाट बाहिरिने जनता मावि विष्णुनगर र जनता मावि शहिदनगरले नगद ५/५ रुपैयाँ प्राप्त गरेका छन् । त्यसै गरि छात्रातर्फ विजेता शान्ति निकुञ्ज माविले नगद ८ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता सरस्वती नमुना मावि हसौराले नगद ४ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता अवधिभरमा छात्रातर्फ उत्कृष्ट डिफेण्डर सरस्वती नमूना माविकी जुना थापा, उत्कृष्ट मिडफिल्डर शान्ति निकुञ्ज माविकी सौजन्य गुरुङ, उत्कृष्ट गोलरक्षक शान्ति निकुञ्ज माविकी दिया महतो, सर्वाधिक गोलकर्ता सरस्वती नमूना माविकी प्रतिमा तामाङ र उत्कृष्ट खेलाडी शान्ति निकुञ्ज माविकी प्रतीक्षा नेपाली भएकी थिइन् भने छात्रतर्फ उत्कृष्ट डिफेण्डर सरस्वती नमूना माविका आदित्य बिक, उत्कृष्ट मिडफिल्डर सरस्वती नमूना माविका रोशन मिधुन, उत्कृष्ट गोलरक्षक शान्ति निकुञ्ज माविका सिशान्त ढकाल, सर्वाधिक गोलकर्ता शान्ति निकुञ्ज माविका देवबहादुर नेपाली र उत्कृष्ट खेलाडी शान्ति निकुञ्ज माविका प्रशिस खनाल भएका थिए ।

कावासोती नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुन, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु,विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment