बुटवल । पूर्व–पश्चिम राजमार्गको ५० किलोमिटर दूरी रहेको बुटवल–गोरुसिंगे खण्ड चार लेनमा स्तरोन्नति गर्न शुक्रबार प्रधानमन्त्री केपी ओलीले भर्चुअल रूपमा शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओलीले आगामी तीन वर्षभित्र बुटवल–गोरुसिंगे सडकखण्ड विस्तार गरिसक्ने बताए । सडक चार लेनमा विस्तारका लागि चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप–आशिष निर्माण सेवा नेपाल जेभीले १३ अर्ब ५५ करोड ६५ लाखमा ठेक्का पाएको छ । बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार कपिलवस्तुको चन्द्रौटासम्म विस्तार गर्ने योजना रहे पनि पहिलो चरणमा बुटवल–गोरुसिंगे सडकखण्डको काम अगाडि बढाइएको हो ।
गोरुसिंगे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटरका लागि डिजाइनको काम भइरहेको छ । बुटवल–गोरुसिंगे सडकखण्ड वनजंगल क्षेत्रमा २४ मिटरदेखि सहरी क्षेत्रमा ५० मिटरसम्मको बनाइँदै छ । यो सडकखण्डमा ३० वटा पुल बन्नेछन् । बजार क्षेत्रमा ओभरहेड ब्रिज पनि बन्नेछन् । १४९ कर्ल्भट र ६ अन्डरपासको योजना छ ।