देवचुली । देवचुली नगरपालिकामा संचालित दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा बिहीबार देवचुली ३ र देवचुली १६ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।
प्रतियोगितामा बिहीबार देवचुली ३ का विरुद्ध देवचुली ११ बिचको पहिलो खेलमा देवचुली ३ ले २ विकेटको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली ११ ले रनबहादुर पुनको १२ रन र मुस्कान सदासंकरको ९ रनको मदतले १४.२ ओभरमा १० विकेट गुमाउँदै ७२ रन बनाएको थियो । बलिङ तर्फ देवचुली ३ का श्याम काफ्लेले ४ विकेट र प्रिन्स दवाडीले ३ विकेट लिएका थिए ।
७३ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले ३ ले १४.१ ओभरमा ८ विकेट गुमाउँदै ७६ रन बनाउँदै २ विकेटले जितेको हो । देवचुली ३ का निशान भट्टले १२ रन र पवन पौडेलले ८ रन बनाएका थिए। बलिङ तर्फ देवचुली ११ का किरन पाण्डेले ४ विकेट र रनबहादुर पुनले २ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली ३ का श्याम काफ्ले म्यान अफ दि म्याच भएका थिए।
त्यसै गरि प्रतियोगिता अन्तरगत बिहीबार देवचुली १३ का विरुद्ध देवचुली १६ बीचको खेलमा देवचुली १६ ले ८ विकेटको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १३ ले सुरज पौडेलको ७ रन र हिमाल रेग्मीको ६ रनको मदतले १५.२ ओभरमा १० विकेट गुमाउँदै ४१ रन बनाएको थियो । बलिङ्तर्फ देवचुली १६ का सुदीप अर्यालले ४ विकेट र विकल्प पौडेलले २ विकेट लिएका थिए ।
४२ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली १६ ले १०.३ ओभरमा २ विकेट गुमाई ४३ रन बनाउँदै जित निकालेको थियो । देवचुली १६ का सगुन सापकोटाले १६ रन र रितकुमार लुइँटेलले ८ रन बनाएका थिए । बलिङतर्फ देवचुली १३ का प्रमिश अर्याल र ओमचन्द्र महतोले १/१ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १६ का सुदीप अर्याल म्यान अफ दि म्याच भएका थिए ।
नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ६ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत शुक्रबार देवचुली ७ का विरुद्ध देवचुली १० बिच पहिलो खेल र देवचुली ५ का विरुद्ध देवचुली १२ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।