देवचुली । कावासोती १२ मा संचालित कावासोती नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएका खेलबाट छात्रतर्फ सरस्वती मावि हसौरा र छात्रातर्फ शान्ति निकुञ्ज फाइनल प्रवेश प्रवेश गरेका छन् । कावासोती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा कावासोती १२ को राजमन्दिर खेल मैदानमा संचालित प्रतियोगिता अन्तरगत बिहीबार भएको शान्ति निकुञ्ज माविका विरुद्ध कालिका मावि लक्ष्मीनगरबीच छात्रातर्फको सेमिफाइनल खेलमा शान्ति निकुञ्ज मावि विजयी भएको हो।
शान्ति निकुञ्ज माविले कालिका माविलाई १-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । खेलमा शान्ति निकुञ्ज माविका प्रतीक्षा नेपाली म्यान अफ दि म्याच भएकी थिइन् । त्यसै गरि जनता मावि विष्णुनगरका विरुद्ध सरस्वती नमुना मावि हसौराबीच भएको छात्रतर्फको सेमिफाइनलमा सरस्वती मावि विजयी हुँदै फाइनल प्रवेश गरेको छ । सरस्वती माविले जनता माविलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले हराउँदै उपाधी नजिक पुगेको हो ।
छात्र तर्फ १६ विद्यालय र छात्रा तर्फ ४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ विजेता टिमले नगद ३० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनलबाट बाहिरिने टिमले नगद ५/५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तरगत शुक्रबार सरस्वती नमुना मावि हसौराका विरुद्ध मध्यविन्दु स्काईलाइन कावासोतीबीच छात्रातर्फको दोस्रो सेमिफाइनल र जनता मावि शहिदनगरका विरुद्ध शान्ति निकुञ्ज माविबीच छात्रतर्फको दोस्रो सेमिफाइनल खेल हुने कावासोती नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो ।