देवचुली । देवचुली नगरपालिकामा संचालित दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा सोमबार देवचुली १० र देवचुली १५ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।
प्रतियोगितामा सोमबार देवचुली ९ का विरुद्ध देवचुली १५ बिचको पहिलो खेलमा देवचुली १५ ले ९ विकेटको जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको देवचुली ९ ले सुवास केसीको १४ रन र गुन्ज मगरको ८ रनको मदतले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन बनाएको थियो । बलिङ तर्फ देवचुली १५ का रितिश श्रेष्ठले ५ विकेट र सन्देश भुसालले ३ विकेट लिएका थिए ।
६० रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले १५ ले ६ ओभरमा १ विकेट गुमाउँदै ६३ रन बनाउँदै ९ विकेटको जित दर्ता गरेको हो । देवचुली १५ का स्विकार श्रेष्ठले २२ रन र नरेश रानाभाटले २१ रन बनाएका थिए। बलिङ तर्फ देवचुली ९ का डिलकुमार थापाले १ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १५ का रितिस श्रेष्ठ म्यान अफ दि म्याच भएका थिए।
त्यसै गरि प्रतियोगिता अन्तरगत सोमबार देवचुली ४ का विरुद्ध देवचुली १० बीचको खेलमा देवचुली १० ले ६ रनको जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको देवचुली १० ले सोनु रेग्मीको ३१ रन र अमृत भुसालको ७ रनको मदतले १७.३ ओभरमा १० विकेट गुमाउँदै ९० रन बनाएको थियो । बलिङ्तर्फ देवचुली ४ का सुरज बसेलले ३ विकेट र पुर्णचन्द्र तिवारीले २ विकेट लिएका थिए ।
९१ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली ४ ले १४.४ ओभरमा सवै विकेट गुमाई ८४ रन मात्र बनाएको थियो । देवचुली ४ का प्रकाश चौधरीले २२ रन र मोहन बरामले १९ रन बनाएका थिए । बलिङतर्फ देवचुली ०३ का जगु क्षेत्रीले ५ विकेट र सोनु रेग्मीले ३ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १० का जगु क्षेत्री म्यान अफ दि म्याच भएका थिए ।
नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ६ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत मंगलबार देवचुली ५ का विरुद्ध देवचुली १७ बिच पहिलो खेल र देवचुली १ का विरुद्ध देवचुली १२ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।