आज:  २०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025 Search
FLASH NEWS

दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता: आइतबार देवचुली १३ र देवचुली १६ विजयी

    प्रकाशित २०८१ माघ ७, सोमबार (२ दिन अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा आइतबार देवचुली १३ र देवचुली १६ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।

प्रतियोगितामा आइतबार देवचुली ३ का विरुद्ध देवचुली १६ बिचको पहिलो खेलमा देवचुली १६ ले ७ विकेटको जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको देवचुली ३ ले सुरेश थापाको २६ रन र अनुप कंडेलको ५ रनको मदतले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६१ रन बनाएको थियो । बलिङ तर्फ देवचुली १६ का कुनाल बस्नेतले ४ विकेट र विजय सिग्देलले ३ विकेट लिएका थिए ।

६२ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले १६ ले ७ ओभरमा ३ विकेट गुमाउँदै ६३ रन बनाउँदै ७ विकेटको जित दर्ता गरेको हो । देवचुली १६ का विजय सिग्देलले ३४ रन र सगुन सापकोटाले २१ रन बनाएका थिए। बलिङ तर्फ देवचुली ३ का नारायण तिमिल्सिनाले २ विकेट र निशान भट्टले १ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १६ का विजय सिग्देल म्यान अफ दि म्याच भएका थिए।

त्यसै गरि प्रतियोगिता अन्तरगत आइतबार देवचुली ११ का विरुद्ध देवचुली १३ बीचको खेलमा देवचुली १३ ले ५१ रनको जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको देवचुली १३ ले आयुष सुबेदीको २७ रन र प्रमिश अर्यालको २३ रनको मदतले १६.५ ओभरमा १० विकेट गुमाउँदै १०५ रन बनाएको थियो । बलिङ्तर्फ देवचुली ११ का रनबहादुर पुनले ४ विकेट र मोहन पाण्डेले ३ विकेट लिएका थिए ।

१०६ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली ११ ले १६ ओभरमा सवै विकेट गुमाई ५४ रन मात्र बनाएको थियो । देवचुली ११ का मोहन पाण्डेले ११ रन र सुमन आलेले ८ रन बनाएका थिए । बलिङतर्फ देवचुली १३ का प्रमिश अर्याल र प्रसिद्ध अर्यालले २/२ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १३ का आयुष सुबेदी म्यान अफ दि म्याच भएका थिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ६ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत सोमबार देवचुली ९ का विरुद्ध देवचुली १५ बिच पहिलो खेल र देवचुली ४ का विरुद्ध देवचुली १० बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।

Write your Comment