देवचुली । देवचुली नगरपालिका वडा नम्बर ४ ले भूमि समस्या समाधान आयोग नवलपुरका अध्यक्ष तारापति खरेललाई स्वागत गरेको छ । गत पुस २९ गते आइतबार अध्यक्षमा नियुक्त भएका खरेललाई वडा कार्यालयले स्वागत एवं बधाई दिदै भूमिहीनको समस्या तत्काल समाधान गर्न आग्रह गरिएको हो।
देवचुली ४ का वडा अध्यक्ष गिरबहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा भूमि समस्या समाधान आयोग नवलपुरका अध्यक्ष तारापति खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
भूमि आयोगका अध्यक्ष भई यस अघि उहाँको कार्यकालमा भएका कामहरुले प्राथमिकता पाउनेमा आफू विश्वस्त रहेको देवचुली ४ का वडा अध्यक्ष गिरबहादुर थापा क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार देवचुली नगरपालिकाको सबैभन्दा मुख्य समस्याको रुपमा रहेको भूमिहीन सुकुम्बासी समस्याको समाधानका लागि नव नियुक्त अध्यक्ष खरेललाई देवचुली ४ बाटै बाँकी कार्यको थालनी गर्न आग्रह गर्नुभएको थियो । सुकुम्बासी जग्गाधनी पुर्जा प्राप्तिका लागि पहिले नै विभिन्न चरणमा फर्महरु भरिसकेको र जग्गा नापजाँचको काम समेत भएको उहाँले बताउनुभयो । वडामा नगरकै सबैभन्दा धेरै ८ सय ५८ घरपरिवार सुकुम्बासी रहेको उहाँले जानकारी दिनुभयो ।
बधाई तथा स्वागत कार्यक्रममा बोल्दै आयोगका नवलपुर अध्यक्ष खरेलले आफू भूमिहीनको समस्या समाधानका गर्न दत्तचित्त भएर लाग्ने बताउनुभयो । आफ्नो पहिलो कार्यकालमा जग्गा नापजाँच लगायतका धेरै काम सकिसकेको र बाँकी काम समेत सम्पन्न गरि देवचुलीका भुमिहीन, सुकुम्बासीको समस्या समाधान गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटा, देवचुली ४ र ५ का राजनैतिक दलका प्रतिनिधि, वडा सदस्यहरु, सामाजिक व्यक्तित्वहरु लगायत स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ४ का वडा सदस्य गणेश क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यपालिका सदस्य विद्याबहादुर बिकले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।