नवलपुर । कालीगण्डकी कोरिडोर ( गैंडाकोट– बुलिङटार –रामपुर) खण्डको तरङ खोलामा निर्माणाधिन पुल अलपत्र परेपछि स्थानीयहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गुहारेका छन् । नवलपुरको बुलिङटार र गैंडाकोट जोड्ने तरङ खोलामा कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी– मालढुंगा सडक योजना अन्तरगत २०७५ सालमा ठेक्का सझौता भएर काम थालेपनि पुलको निर्माण सम्पन्न नभएपछि मन्त्रालय नै गुहार्न परेको बुलिङटार युवा नेता विद्रोही गिरीले जानकारी दिनुभयो ।
२०७६ माघ मसान्तमा काम सक्नुपर्नेमा निर्माण कम्पनीले काम नसकेपछि २०८१ चैत्र मसान्त सम्म म्याद थप भएको थियो । थपिएको म्याद सकिन तीन महिना बाँकी हुँदा समेत निर्माण कम्पनीले पुल बनाउन वास्ता गरेको छैन । पुलको दाया बाँया पिल्लरको काम भएको छ भने मुख्य काम स्लयाव बनाउन बाँकी छ । २० मीटर लामो पुल निर्माणका लागि रु चार करोड ३५ लाख ६७ हजारमा ठेक्का लागेको थियो । पुलको भौतिक तथा वित्तिय प्रगति ६४ प्रतिशत भएपनि निर्माण कम्पनी पुल निर्माणमा अग्रसर नदेखिएको कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी– मालढुंगा सडक योजनाले जनाएको छ ।
खोला नजिकैको पहिरो देखाएर पुल निर्माणको काम अलमलमा परेको हो । योजनाले समेत विभागको राय चाहिने भन्दै पन्छिने काम गरेपछि पाल्पा क्षेत्र नं. १ का सांसद नारायण आचार्य, बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी,युवा नेता विद्रोही गिरी लगाएको टोलीले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशव आचार्य र सडक विभागका महानिर्देशक रामहरि पोखरेललाई भेटी तत्काल नै पुल निर्माण थाल्न अनुरोध गरेका छन् ।
वर्षा अगाडि पुल निर्माण नभए नवलपुरको उत्तर भेग, पाल्पा, स्याङ्जा, तनहुँको दक्षिण भेग, गुल्मीको पूर्वी भेगमा यातायात सञ्चालनमा अवरोध आउने छ । पुल निर्माणका सन्दर्भमा १५ दिन भित्रमा के गर्न सकिन्छ भन्ने विषयमा टुंगाउने गरी काम थालिने सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताउनुभयो ।