देवचुली । देवचुली १७ पिप्रहरमा संचालित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी देवचुली ९ ले जितेको छ । दोस्रो पिप्रहर माघी मेला मूल आयोजक समितिको आयोजनामा पिप्रहर सामुदायिक होमस्टे नजिकको खेलमैदानमा पुस २९ गतेदेखि संचालन भएको प्रतियोगिताको फाइनलमा मध्यबिन्दुलाई हराउँदै देवचुली ९ उपाधि रक्षा गर्न सफल भएको हो ।
गत वर्षको बिजेता समेत रहेको देवचुली ९ ले मध्यविन्दुलाई ३-१ को सेटले हराएको हो । उपाधि बिजेता देवचुली ९ ले नगद ४० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता मध्यविन्दुले नगद २५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक सन्दिप पौडेलले जानकारी दिए ।
बिजेताहरुलाई देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा जिल्ला भित्रका १६ टिमको सहभागिता रहेको थियो ।