आज:  २०८१ माघ २, बुधबार | Wed, 15, Jan, 2025 Search
FLASH NEWS

देवचुलीमा दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता सुरु

    प्रकाशित २०८१ माघ २, बुधबार (३ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकामा दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा बुधबारबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको आयोजना गरिएको हो ।प्रतियोगिताको देवचुली नगरपालिकाकाका उप प्रमुख पार्वता तिवारीले समुदघाटन गर्नुभएको हो ।

प्रतियोगितामा देवचुली १ का विरुद्ध देवचुली १७ बिचको उदघाटन खेलमा देवचुली १७ ले ३० रनको जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको देवचुली १७ ले शिशिर लामिछानेको ४५ रन र सन्तोष पौडेलको १५ रनको मदतले २० ओभरमा १० विकेट गुमाउँदै १०६ रन बनाएको थियो । देवचुली १ का किशन बस्नेतले ३ विकेट, अर्जुन चौधरी र देव पाण्डेले २/२ विकेट लिएका थिए ।

१०७ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले १ ले ७६ रनमा १० विकेट गुमाउँदै ३० रनले पराजित भएको थियो । देवचुली १ का किसन बस्नेतले २८ रन र देव पाण्डेले २३ रन बनाएका थिए। देवचुली १ लाई सस्तैमा समेटन देवचुली १७ का सन्तोष पौडेल र राजु सापकोटाले ३/३ विकेट र अपराजित पौडेलले २ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १७ का शिशिर लामिछाने म्यान अफ दि म्याच भएका थिए।

प्रतियोगितामा देवचुली नगरका १३ वडाबीच प्रतिष्पर्धा रहने आयोजकले जनाएको छ । लिगका आधारमा खेलाइने खेलमा १३ वटा वडाले मात्र टिम दर्ता गराएको र दर्ता भएको टिमलाई ३ समुहमा विभाजन गरिएको हो । समुहमा ए मा देवचुली ३, देवचुली ११, देवचुली १३ र देवचुली १६ रहेको छ भने समूह बी मा देवचुली १, देवचुली ५, देवचुली १२ र देवचुली १७ रहेको छ । त्यसै गरि समुह सी मा देवचुली ४, देवचुली ७, देवचुली ९, देवचुली १० र देवचुली १५ रहेका छन् । समुहमा रहेका टिमबीच प्रतिष्पर्धा गर्दै प्रत्येक समुहको बिजेता र उपबिजेता दोस्रो चरणमा प्रवेश गर्ने आयोजक संस्थाका सचिव प्रकाश काफ्लेले जानकारी दिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ६ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत बिहीबार देवचुली ११ का विरुद्ध देवचुली १६ बिच पहिलो खेल र देवचुली ४ का विरुद्ध देवचुली ७ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।

देवचुली नगर युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष अमरबहादुर घर्ती मगरको अध्यक्षतामा भएको प्रतियोगिता समुदघाटन समारोहमा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली १ का वडा अध्यक्ष कृष्णबहादुर केसी, देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटा, देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल, कार्यपालिका सदस्य जयबहादुर बिक लगायत वडा सदस्यहरु, वडा खेलकुद विकास समितिका सदस्यहरू लगायत खेलप्रेमीको उपस्थिति रहेको थियो । देवचुली नगर युवा तथा खेलकुद विकास समितिका सदस्य चिरञ्जीवी पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव प्रकाश काफ्लेले गरेका थिए ।

Write your Comment