आज:  २०८१ पौष २६, शुक्रबार | Fri, 10, Jan, 2025 Search
FLASH NEWS

शास्वतधाममा ५० लाख दर्शनार्थीः शनिबार दर्शनार्थी सम्मान गरिने

    प्रकाशित २०८१ पौष २५, बिहिबार (११ घण्टा अघि)


देवचुली। शास्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण अवलोकन गरेको अवसरमा बिशेष कार्यक्रम हुने भएको छ । पुस २७ गते शनिबार शास्वतधाम परिसरमा आगन्तुक दर्शनार्थी स्वागत–सम्मान सहित विभिन्न धार्मिक साँस्कृतिक कार्यक्रमहरु हुने शास्वतधाम ब्यवस्थापन पक्षले जनाएको छ ।

दर्शनार्थी सम्मान तथा विविध कार्यक्रमका संयोजक घनश्याम चालिसेका अनुसार राष्ट्रिय–अन्तरराष्ट्रिय रुपमा प्रख्यात धार्मिक अभियन्ता–अगुवा, राष्ट्रिय स्तरका विशिष्ट ब्यक्तित्वहरु,, जनप्रतिनिधि, जिल्लास्थित कार्यालयका प्रमुख प्रतिनिधि र संघसंस्थाका पदाधिकारी प्रतिनिधिहरु, स्थानीय टोल, आमा समूह, सामाजिक अगुवाहरू समेतको उपस्थितिमा उत्सवमय समारोह हुने चालिसे बताउँछन् ।यस्तै, काठमाण्डौ उपत्यकामा लोकप्रिय साँस्कृतिक झाँकी सहितको महाकाली नागचा नाच उपत्यका बाहिर पहिलोपटक शास्वतधाममा प्रस्तुत गरिने पनि जनाईएको छ ।

धर्म–संस्कृतिको संरक्षण, धर्मप्रतिको श्रद्धा, आस्था र बिश्वास जागरण मार्फत पर्यटन प्रवद्र्धन र पर्यटकको आकर्षण बढाउने ध्येयका साथ हुने एक दिवसीय कार्यक्रममा स्थानीय मौलिक संस्कृति, रहनसहन, भेषभुषा र बाजागाजा सहितका थारु, मगर, लामा–गुरुङ, व्राम्हण जातिका मौलिक झाँकीसहितका नृत्य र साँस्कृतिक प्रस्तुतिहरु समावेश गरिने पनि जनाईएको छ । चौधरी ग्रुपको निजी लगानीमा बनेको शास्वतधाममा कलात्मक मन्दिर, गुरुकुलीय विद्यापीठ, बौद्ध चैत्य–गुम्बा, संग्रहालय, शाकाहारी भोजनालय जस्ता दर्शन, अवलोकन, भ्रमण र बिश्रामका लागि उपयुक्त स्थलहरु छन् ।

यहाँ घुम्न पुग्ने भ्रमणकर्ताको मन आनन्दित र आँखा लोभ्याउने कलात्मक बुट्टा बाहेक धर्म–संस्कृतिसँग सम्वन्धित कलात्मक भित्ते चित्र, पानीका फोहोरा सहितका पोखरीहरु, रंगीविरंगी फूल–बगैचा–हरियाली, सजिला पदमार्ग र रंगीन विजुलीबत्तीको उज्यालो प्रकाश धाममा लोभ्याउने आकर्षण पक्षहरु हुन् ।पुर्व–पश्चिम मुख्यमार्गको मध्यभाग नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. २ दुम्कौलीमा मुख्य सडक आडैमा रहेको शास्वत धाम धार्मिक पर्यटक मात्रै नभएर शैक्षिक अध्ययन भ्रमणमा आउने विद्यार्थी, शिक्षक, अभिभावक, सामुदायिक, संस्थागत, सरकारी संघसंस्था–निकायका सञ्चालक, पदाधिकारी, कर्मचारी र पुर्वपश्चिम यात्रा गर्ने यात्रुहरु समेतले भ्रमण गर्ने प्रमुख र आकर्षणको गन्तब्य पनि हो ।

विशेष गरी नेपाल र भारतका आगन्तुकहरुको उल्लेख्य आगमन हुने शास्वतधाम चीन, थाइल्याण्ड, म्यानमार, भुटान, बंगलादेश, श्रीलंका लगायत नेपाल घुम्न आउने विदेशी पर्यटक पाहुनाहरुको भ्रमणका लागि रोजाईको गन्तब्य पनि बनेको छ ।

Write your Comment