दयाराम आचार्य, कावासोती । कावासाेती नगरपालिकाकाे १६ ओैँ अधिवेशन साेमबार सम्पन्न भएको छ। नगरसभाकाे अधिवेशनले बिनियाेजन ऐन २०८१,आर्थिक ऐनकाे पहिलो संशोधन गरेको छ। सभामा उप मेयर एवम् सभाका उपाध्यक्ष फुल कुमारी थनेतले विनियोजन ऐनकाे पहिलाे संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । नगर तथा वडाका विभिन्न ६० वटा याेजनामा दुई कराेड ४१ लाख ६२ हजार बराबरको बजेट नगर सभाकाे अधिवेशनले संशोधन गरेको छ।
यसै गरि नगरसभाले आर्थिक ऐन २०८१ मा समेत पहिलो संशोधन गरेको छ। नगरपालिका भित्र बिगतमा दर्ता भएका र नवीकरण नभएका व्यवसाय नवीकरण गर्दा लाग्ने बिगतकाे शुल्कमा पचास प्रतिशत छुट दिने, पेट्रोलियम पदार्थ बिक्री गर्ने बिक्रेताको करकाे दर निर्धारण , एफएमका लागि दर्ता नवीकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे नियमावली अनुसार लाग्ने, कवाडी व्यवसाय दर्ताकाे व्यवस्था लगायतका विषय संशोधन गरिएको छ।
नगरसभामा बाेल्दै नगर प्रमुख एवम् नगरसभाका अध्यक्ष विष्णुप्रसाद भुसालले कावासाेती नगरपालिका क्रमिक रुपमा विकासको गतिमा अघि बढेको बताउनुभयो । “विकासको काम असारमा धान राेपेर ,मंसिरमा काटे जस्तो नहुने रहेछ” नगर प्रमुख भुसालले भन्नुभयो ” क्रमिक रुपमा हुँदै गएको छ, नगरपालिका विकासको गतिमा क्रमिक रुपमा अघि बढिरहेको छ।” नगर प्रमुख भुसालले सभामा बाेल्दै व्यक्तिगत भवन देखि सार्वजनिक भवन निर्माणगर्दा नगरपालिकाकाे अनुमति र भवन आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । नगर प्रमुख भुसालले राजश्वकाे दायरमा वृद्धि गर्दै राजश्व चुहावटलाई राेक्नतर्फ लाग्नुपर्नेमा जाेड दिनुभयो ।
नगर प्रमुख भुसालले केरुङ्गे खाेला कावासाेतीकाे लागि विपद्काे खतराको रुपमा रहेकाले यसकाे ब्यवस्थापनमा दाेहाराे तटबन्ध गरी विकास र मानव जीवनकाे सुरक्षामा अग्रिम ध्यान पुर्याउनु पर्ने आजको आवश्यकता रहेको भन्दै तटबन्ध गर्ने केही खर्चिलो हुनेहुँदा पालिकाले स्राेत र सहयोगी दाता खाेजी गर्न लागेको बताउनुभयो । सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत लिलाराज पाैडेलले नगरसभाकाे कार्यसुचि प्रस्तुत गर्दै स्वागत मन्तव्य समेत राख्नुभएको थियाे।
नगरसभामा सभाका सदस्यहरुले खाेला तटबन्ध ,वन्यजन्तु द्वन्द्व नियन्त्रण , बजेट विनियोजन लगायतका विषय आफ्नो राय सहितकाे धारणा राखेका थिए ।