कावासोती । कावासोती १२ मा संचालित टोल विकास संस्थाका पदाधिकारीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कावासोती १२ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा टोल विकास संस्थाका पदाधिकारीहरुलाई कावासोती १२ को सभाहलमा पुस १८ गतेबाट संचालन भएको तालिमको आज समापन गरिएको हो ।
टोल विकास संस्थाका पदाधिकारीहरुलाई संस्थागत नेतृत्व विकास गराउन र माइन्युट लेख्ने सीप सिकाउँदै वडामा हुने विविध कार्यक्रम संचालन गर्नका लागि सहयोग पुर्याउन तालिमको आयोजना गरिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । वडाले आर्थिक वर्ष २०८१/०८२ का लागि लक्षित समुहलाई विनियोजन गरेको बजेटबाट तालिम संचालन गर्न लागिएको र तीन दिनसम्म माइन्युट लेखन र उदघोषण तालिम राखिएको उहाँले बताउनुभयो । तालिमबाट आगामी दिनका टोल विकास संस्था, आमा समुह / क्लबका कार्यक्रम संचालन, बैठक बसी माइन्युट लेखनमा सहज हुने उहाँले बताउनुभयो ।
वडामा रहेका १४ वटा टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको तालिमको पहिलो दिन बोल्ने सीप, उदघोषणका विषयमा, दोस्रो दिन कार्यक्रम संचालन र उदघोषण, तेस्रो दिन माइन्युट लेखन र कार्यक्रम संचालनका विषयमा सहजीकरण गरिएको हो । तीन दिनसम्म संचालन भएको तालिममा दयाराम आचार्य, ज्ञानु पंगेनी, दिपक शर्मा र राजु चापागाईले सहजीकरण गर्नुभएको थियो ।
तालिम निकै नै प्रभावकारी रहेको र वडाले आगामी दिनमा समेत यस्तै कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सहभागीले बताए । तालिममा सिकेका विषयवस्तु आआफ्नो टोल विकास संस्थाका कार्यक्रममा प्रस्तुत गर्ने र अबका कार्यक्रम औपचारिक गर्ने सहभागीहरुको भनाई रहेको थियो। कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा तालिमको समापन गरिएको हो । समापन समारोहमा तालिममा सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको हो । तालिमको समापनमा वडा सदस्यहरु, पुर्व वडा सदस्य, प्रशिक्षकहरु लगायत सहभागिको उपस्थिति रहेको थियो ।