देवचुली । पृथ्वीको संरक्षणमा मानव र वन्यजन्तु एकसाथ भन्ने नाराका साथ देवचुलीमा मानव वन्यजन्तु सह अस्तित्व सम्मेलन सुरु गरिएको छ । वातावरण संरक्षणका लागि युवा संस्थाको आयोजना र देवचुली नगरपालिकाको संरक्षणमा शुक्रबार र शनिबार देवचुलीको पिप्रहर सामुदायिक होमस्टेमा सम्मेलन सुरु गरिएको हो ।
सम्मेलनको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले समुदघाटन गर्नुभएको हो । बढ्दै गएको मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका गर्ने उद्देश्यले सह अस्तित्व सम्मेलन गरिएको आयोजक संस्था वातावरण संरक्षणका लागि युवाका अध्यक्ष सुजन भुसालले जानकारी दिनुभयो । पृथ्वीको संरक्षणका लागि मानव र वन्यजन्तुबीच द्वन्द रोक्नुपर्ने भएकाले युवाहरुलाई सचेत बनाउन कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
सम्मेलनमा कृषि क्षेत्रमा वन्यजन्तुले पारेको सकारात्मक र नकारात्मक प्रभावको बारेमा देवचुली नगरपालिकाका कृषि शाखा प्रमुख गगन भट्टराईले सहजीकरण गर्नुभएको थियो भने चरा मानव द्वन्द र सह अस्तित्वका बारेमा संरक्षणकर्मी डिबी चौधरीले सहजीकरण गर्नुभएको थियो ।
सम्मेलनको उदघाटनमा डिभिजन वन कार्यालयका नवलपुरका प्रमुख बसन्त केशव अधिकारी, देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत विद्यार्थी, युवाहरुको उपस्थिति रहेको थियो । सम्मेलनमा दोस्रो दिन जलवायु परिवर्तन, मानव द्वन्द्व न्यूनीकरण लगायतका विषयमा सहजीकरण गरिने आयोजकले जनाएको छ ।