आज:  २०८१ पौष २१, आईतबार | Sun, 05, Jan, 2025 Search
FLASH NEWS

भविष्यका शिक्षकका लागि छायाँ शिक्षा र छायाँ शिक्षक सम्बन्धी बहस सम्पन्न

    प्रकाशित २०८१ पौष १९, शुक्रबार (२ दिन अघि)


काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अर्न्तगत भाषा शिक्षा विभाग र राइटिंग एण्ड कम्यूनिकेशन सेन्टरले शिक्षण पेशामा शिक्षकको अभावलाई कमी ल्याउनका लागि छायाँ शिक्षकको अवधारणमा बहस कार्यक्रम सम्पन्न गरिएको छ ।काठमाण्डौका विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयहरुको प्रधानाध्यापक तथा संचालकका साथै शिक्षाविद्हरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण स्कूल अफ एजुकेशनका सहायक डिन, प्रा डा हेमराज काफ्‌लेले गर्नु भएको थियो ।

बहस कार्यक्रममा स्कूल अफ एजुकेशनका डिन, प्रा डा बालचन्द्र लुइटेलले भविष्यको शिक्षकका लागि छायाँ शिक्षा र छायाँ शिक्षक सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुतीकरणमा छायाँ शिक्षकको अवधारणा, शिक्षक विकासको उद्देश्यका साथै यस अवधारणाले भविष्यमा शिक्षण क्षेत्रमा शिक्षकको कमी हुने जोखिमलाई न्यूनिकरण गरि शिक्षकको गुणस्तर बढाउनका लागि टेवा पुग्ने कुरा प्रा डा लुइटेलले व्यक्त गर्नु भएको थियो । उहाँको प्रस्तुतीकरणमा छायाँ शिक्षकलाई विभिन्न समयावधिमा विद्यालय तथा विश्वविद्यालयको संयुक्त रुपमा विकास गर्ने परिकल्पना गरिएको छ । छायाँ शिक्षकको भूमिका विद्यालयको लागि शैक्षिक तथा विद्यार्थीको मनोवैज्ञानिक सहयोगको रुपमा काम गर्दै उनीहरुको सिकाइमा आवश्यक पर्ने अतिरिक्त सहयोग प्रदान गरि आफ्‌नो शैक्षिक सीप विकास गर्नु हो ।

बहसमा मिडभ्याली कलेजका निर्देशक रितल रानाले छायाँ शिक्षकको संस्थागत अवधारणाबारे प्रस्तुतीकरण गर्नुका साथै आफ्‌नो विद्यालयमा छायाँ शिक्षकको अभ्यासका साथै यसको महत्व तथा उपलब्धि बारे जानकारी गराउनु भएको थियो भने बुढानीलकण्ठ विद्यालयका प्रधानाध्यापक केशर खुलालले भविष्यको शिक्षक विकासका लागि छायाँ शिक्षकको रुपमा विश्वविद्यालय तथा विद्यालयको संयुतm सहकार्य तथा उत्तरदायित्व रहने कुरामा जोड दिनु भएको थियो । उहाँहरुको प्रस्तुतीकरण पश्चात सहभागीहरुले खुल्ला छलफलमा शिक्षक विकासको लागि ल्याइएको छायाँ शिक्षकको अवधारणलाई स्वागत गर्दै यसप्रकारको अभ्यास तथा शिक्षण सिकाईबारे सम्भावनाहरु पहिल्याउदै यस प्रकारको कार्यक्रम सञ्चालनमा गरिनु पर्ने आवश्यक पूर्वतयारी बारे पनि छलफल भएको थियो । बहसमा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा जयराज अवस्थीले छायाँ शिक्षकको सम्बन्धमा आफ्‌नो अनुभवका साथै यसलाई सफल पार्न गरिनु पर्ने कार्यबारे आफ्‌नो विचार राख्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रा डा बालचन्द्र लुइटेलले छायाँ शिक्षकको अवधारणलाई विश्वविद्यालयले सम्बन्धित सरोकारवालाहरुसंग समन्वय गरि अगाडि बढाउने जानकारी गराउनु हुदैं सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदैं कार्यक्रमलाई समापन गरिएको थियो ।

Write your Comment