कावासोती । कावासोती १२ मा टोल विकास संस्थाका पदाधिकारीका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । कावासोती १२ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा टोल विकास संस्थाका पदाधिकारीहरुलाई कावासोती १२ को सभाहलमा तालिमको सुरु गरिएको हो ।
कावासोती १२ का वडा सदस्य बन्दना भुजेलको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रमा कावासोती नगरपालिका उप प्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि उदघाटन सत्रमा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल, वडा सदस्य देवबहादुर चौधरी, वडा सदस्य होममाया सार्की लगायत टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
टोल विकास संस्थाका पदाधिकारीहरुलाई संस्थागत नेतृत्व विकास गराउन र माइन्युट लेख्ने सीप सिकाउँदै वडामा हुने विविध कार्यक्रम संचालन गर्नका लागि सहयोग पुर्याउन तालिमको आयोजना गरिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । वडाले आर्थिक वर्ष २०८१/०८२ का लागि लक्षित समुहलाई विनियोजन गरेको बजेटबाट तालिम संचालन गर्न लागिएको र तीन दिनसम्म नेतृत्व विकास, माइन्युट लेखन र उदघोषण तालिम राखिएको उहाँले बताउनुभयो ।
तालिमको उदघाटन सत्रमा बोल्दै उप प्रमुख थनेतले वडाले टोलबासीको नेतृत्व विकास सिकाउनका लागि तालिमका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । संघसंस्थाका विविध तथ्यांकहरु अभिलेखिकरण आवश्यक रहेकोले माइन्युट लेख्न प्रक्रियासँगै उदघोषण तालिमले सबैलाई सिकाई हुने उहाँले बताउनुभयो ।
वडामा रहेका १४ वटा टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको तालिमको पहिलो दिन बोल्ने सीप, उदघोषण लगायतका विषयमा पत्रकार दयाराम आचार्य र ज्ञानु पंगेनीले सहजीकरण गर्नुभएको थियो । तालिमको उदघाटन सत्रमा वडा सदस्य देवबहादुर चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने देवचुली मिडिया प्रालिका संचालक दिपक शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।