चितवन । कालिका नगरपालिका वडा नम्बर ३ वनकट्टामा रहेको आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । विभिन्न ६ वटा लायन्स क्लबहरुको संयुक्त रुपमा आयोजनामा मंगलबार २०३ जना विद्यार्थीहरूका लागि जाडो मौसममा अत्यावश्यकतालाई महसुस गरी न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारी सहित लायन्स क्लबहरू लायन्स क्लब अफ हिमालयज पाटन, नारायणगढ दियालो, भरतपुर, चितवन सेन्ट्रल र काठमाडौँ उमा एपोलो गरी ६ वटा क्लबले संयुक्त रुपमा सम्पन्न गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शेरबहादुर पौडेलले जानकारी दिनुभयो । उक्त कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष लायन असिम हमालज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथि लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपाने रहनु भएको थियो। लायन्स क्लब अफ काठमाडौँ उमा एपोलोका सचिव लायन सुजनबाबु लोहनीज्यूले स्वागत मन्तव्य राख्नुभएको लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन प्रभाकर पण्डित लगायत डिष्ट्रिक्टका सिनियर लायन्सहरूको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत वडा नम्बर ३ का वडाध्यक्षले समेत आवश्यकता अनुरुपको सहयोग गरी विकटका विपन्न विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिदिनुभएकोमा आयोजक क्लबहरुलाई ह्रदयदेखि धन्यवाद दिनुभएको थियो। सम्पूर्ण आयोजक लायन्स क्लबहरु, सहभागी मुख्य अतिथि, विशिष्ठ अतिथि लगायत सहयोग स्विकार गरिदिने र सहजीकरण गरिदिने विद्यालय परिवार लगायत सम्पूर्णलाई लायन्स क्लब अफ चितवन सेन्ट्रलका अध्यक्ष लायन कमल उपाध्यायले धन्यवाद मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रम लायन्स क्लब अफ भरतपुरका अध्यक्ष लायन सन्तोष मजाकोटीज्यूले सञ्चालन गर्नुभएको थियो।