देवचुली । देवचुली नगरपालिकामा सिलाई सीप विकास तालिम सुरु गरिएको छ । सर्वोदय ( समावेशी अक्षर र अनुसन्धान ) संस्थाको आयोजना र लक्ष्मी सनराइज बैंकको सहयोगमा बुधबारदेखि पुस २२ गतेसम्म देवचुली उद्योग वाणिज्य संघको सभाहलमा ६ दिने सिलाई सीप विकास तालिमको सुरु गरिएको हो ।
देवचुली नगरपालिकाका १७ वटा वडामा अपांगता भएका व्यक्ति वा उनीहरुको परिवारको सहभागिता रहने गरि तालिमको आयोजना गरिएको सर्वोदय संस्थाका अध्यक्ष युवराज वाग्ले बताउनुभयो । अपांगता भएका व्यक्तिलाई सीप सिकाउनका लागि तालिमको आयोजना गरिएको बताउँदै संस्थाले यस वर्ष विभिन्न कार्यक्रम गर्ने योजना बनाएको जानकारी समेत दिनुभएको थियो ।
संस्थाका अध्यक्ष युवराज वाग्लेको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि लक्ष्मी सनराइज बैंक रजहर शाखाका प्रबन्धक कृष्ण सुवेदी, विभिन्न संस्थाका प्रतिनिधि लगायत आयोजक संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै उप प्रमुख पार्वता तिवारीले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । सीपको सहि सदुपयोग गर्दै आर्थिक उपार्जनका लागि झोला, टेबल रुमाल, भान्सामा प्रयोग हुने एप्रोन तयार गर्ने र बिक्री गर्न सकिने समेत उहाँले बताउनुभयो । सर्वोदय संस्थाले अपांगता भएका व्यक्ती र उनीहरुको परिवारका लागि विभिन्न कार्यक्रम गरिरहेको पाएको र देवचुली नगरपालिकाबाट समेत संस्थासँग समन्वयमा कार्यक्रम गर्न सकिने उहाँले बताउनुभयो ।
६ दिनसम्म संचालन हुने तालिममा जमुना बस्याल मुख्य प्रशिक्षक र गोमा श्रेष्ठ सहायक प्रशिक्षकको रुपमा सहजीकरण गर्ने आयोजक संस्थाले जनाएको छ । तालिममा झोला बनाउने, भान्सामा प्रयोग हुने एप्रोन बनाउने, किचन रुमाल लगायतका सामाग्री बनाउन सिकाईने छ ।
देवचुलीको १७ वडाबाट ४० जना भन्दा बढीको सहभागिता रहेको तालिमको उद्घाटन सत्रको सहजीकरण आयोजक संस्थाका सचिव ठाकुर प्रसाद शर्माले गर्नुभएको थियो ।