आज:  २०८१ पौष २०, शनिबार | Sat, 04, Jan, 2025 Search
FLASH NEWS

देवचुली दलित युवा समाजद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

    प्रकाशित २०८१ पौष १७, बुधबार (२ दिन अघि)


देवचुली । देवचुली दलित युवा समाजद्वारा देवचुली १४ मा रहेको जन ज्योति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । समाजको पाँचौं वार्षिक उत्सवको अवसर पारी उक्त विद्यालयका विद्यार्थीलाई ट्रयाक सेट वितरण गरिएको हो ।

देवचुली दलित युवा समाजद्वारा गत असोज ३० गतेदेखि कार्तिक १५ गतेसम्म संचालित फुटबल प्रतियोगिता संचालनबाट बचत भएको रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्य अनुसार बुधबार विद्यालयमा न्यानो कपडा वितरण गरिएको देवचुली दलित युवा समाजका अध्यक्ष राकेश बिकले जानकारी दिनुभयो । समाजले विगत वर्षमा समेत विपन्न विद्यार्थीका लागि न्यानो कपडा वितरण गरिएको र जाडोमा कोही पनि विद्यार्थीलाई समस्या नहोस् भन्ने हेतुले न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो ।

देवचुली दलित युवा समाजका अध्यक्ष राकेश बिकको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, राजनीतिक दलका प्रतिनिधिहरु, देवचुली १४ का वडा अध्यक्ष गोपाल थापा, वडा सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकोमा देवचुली दलित युवा समाजलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर सामाजिक अभियानमा लाग्नका लागि समेत आग्रह गर्नुभएको थियो । सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक पक्षको विकासमा नगरपालिकाले सहयोग गरिरहेको र सबैको सहयोगले शैक्षिक सुधार ल्याउन सकिने उहाँले बताउनुभयो । त्यसै गरि प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल र नेपाली कांग्रेस नवलपुरका उप सभापति बालकृष्ण घिमिरेले समाजले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।

जन ज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीधर ज्ञवालीले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको सहजीकरण देवचुली दलित युवा समाजका शंकर सुनारले गर्नुभएको थियो ।

Write your Comment