आज:  २०८१ पौष २०, शनिबार | Sat, 04, Jan, 2025 Search
FLASH NEWS

क्रिकेट यात्राको सुरुवात देवचुलीबाट नै गरेको हुँ : सन्दिप लामिछाने

    प्रकाशित २०८१ पौष १६, मंगलबार (३ दिन अघि)


राजु चापागाई, देवचुली । राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेले आफ्नो क्रिकेट यात्राको सुरुवात देवचुली १६ रजहरबाट गरेको बताएका छन् । देवचुली नगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

भारतबाट नेपाल आएपछी रजहरमा आफ्नो आफन्तको घरमा बसी अध्ययनसँगै क्रिकेट खेलको सुरुवात गरेको उनले स्मरण गरे । रजहरबाट चितवनमा समेत खेल खेल्न जाने गरेको उनले बताए । देवचुली नगरपालिकाको खेलकुद को उर्वरभुमी भएको बताउँदै उनले सबै खेलको स्तरोन्नतिका लागि देवचुली नगर पालिका समक्ष आग्रह गरेका थिए । खेलाडीमा लगनशीलता, अनुशासन र धैर्यता हुनुपर्ने भन्दै उनले जिल्ला तथा प्रदेश स्तरीय लिगको सुरुवात गर्न समेत सुझाव दिएका थिए ।

कार्यक्रममा उपस्थित भएका खेलप्रेमीहरुलाई आफ्नो क्रिकेट खेल जिवनका अनुभव साटासाट गरेका थिए । आफुले क्रिकेट खेल सुरु गर्दा समुदायमा क्रिकेटप्रति चासो कम हुँदा सँगै खेल्ने साथीको कमी हुने गरेको उनले बताए । सबैको सहयोगले खेललाई निरन्तरता दिन पाएको र राष्ट्रिय टिमको प्रतिनिधित्व गर्न अवसर पाउँदा आफुलाई निकै ठूलो उपलब्धि प्राप्त गरेको महसुस भएको उनले सम्झिए । लामिछानेले कार्यक्रममा सहभागीबाट राखिएका जिज्ञासाहरुलाई सम्बोधन समेत गरेका थिए । लामिछाने देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीमा अभ्यास खेल खेल्न आएका हुन् ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरले खेलकुद विकासका लागि प्राथमिकता दिएर काम गरिरहेको र आवश्यक बजेट विनियोजन गर्नका लागि सबैको सहयोग रहेको बताए । नगरपालिकाले युवा तथा खेलकुद विकास समिति नै गठन गरेर काम गरिरहेको र आगामी दिनमा खेल क्षेत्रका लागि गर्नुपर्ने कामहरुका लागि कुनै कसर बाँकी नछाड्ने समेत बताए ।

कार्यक्रममा सन्दिप लामिछानेसँगै नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सका उदयमान खेलाडी किशोर महतो, अन्डर १९ क्रिकेट टिमका खेलाडी अपराजित पौडेल, देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, देवचुली नगर युवा तथा खेलकुद विकास समितिका पदाधिकारीहरु, रोयल क्रिकेट एकेडेमीका संचालक लगायत खेलप्रेमीको उपस्थिति रहेको थियो ।

देवचुली नगरपालिकाको सभाहलमा उपस्थित सन्दिप लामिछानेलाई नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा देवचुलीका किसानद्वारा उत्पादित मह मायाको चिनोको रुपमा हस्तान्तरण गरेका थिए । नगर प्रवक्ता तिलप्रसाद काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण देवचुली नगर युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव प्रकाश काफ्लेले गरेका थिए ।

Write your Comment