देवचुली । अमरज्योति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा टीकाराम देवकोटा निर्वाचित भएका छन् । शनिबार संस्थाको कार्यालय परिसरमा अध्यक्ष पदका लागि भएको निर्वाचनबाट देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको अध्यक्ष पदको लागि कान्ता पोखरेल पण्डित ( कमलको फूल), यमनाथ बस्ताकोटी (घडी) र टिकाराम देवकोटा (मन्दिर) का बीचमा चुनावी प्रतिष्पर्धा भएको थियो ।
अध्यक्षमा निर्वाचित देवकोटाले ३१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी यमनाथ बस्ताकोटीले २०४ मत ल्याएका थिए भने अध्यक्षका अर्का उम्मेदवार कान्ता पोखरेल पण्डितले ११७ मत ल्याएकी थिइन् । शनिबार बिहान सवा ८ बजेदेखि सुरु भइ दिउँसो २ बजे सम्पन्न भएको निर्वाचनमा कुल १ हजार १३ मतदाता उपभोक्ता रहेका उक्त सामुदायिक वनमा ६ सय ५७ मत खसेको निर्वाचन समितिका संयोजक सुर्यप्रसाद पोखरेलले जानकारी दिए।
समूहको अध्यक्ष बाहेक अन्य पदमा सहमति भएको निर्वाचन समितिका संयोजकले बताए । उनका अनुसार उपाध्यक्षमा होम बहादुर दरै, सचिवमा अनिता बगाले, सह–सचिवमा गणेश बहादुर विश्वकर्मा, कोषाध्यक्षमा हिमाकुमारी सारु थापा र सदस्यहरुमा खिमलाल उपाध्याय, सीतादेवि गौतम, शिव घिमिरे(गोपाल), दिव्यकला तिमिल्सेना, प्रमेश श्रेष्ठ, उषा थापा मगर चयन भएका हुन् । त्यसै गरि लेखा समितिमा शम्सेर बहादुर अधिकारी, ढुण्डीराज केसी र अमृता दरै सर्वसम्मत चयन भएका हुन् ।