देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा शनिबार देवचुली १ र देवचुली १६ विजयी भएको हुँदै फाइनल प्रवेश गरेका छन् । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा देवचुली ११ को सुर्य किरण आधारभूत विद्यालयको खेलमैदानमा संचालन भएको पहिलो सेमिफाइनल खेलमा देवचुली ११ का विरुद्ध देवचुली १६ बिचको खेलमा देवचुली १६ विजयी भएको हो ।
देवचुली १६ ले देवचुली ११ लाई ट्राइबेकरमा ५-४ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरीसँगै खेल ट्राइबेकरमा गएको थियो । आजको पहिलो खेलमा देवचुली १६ का गोलरक्षक सौगात महतो म्यान अफ दि म्याच भएका छन् ।
शनिबार नै भएको देवचुली १ का विरुद्ध देवचुली १३ बिचको दोस्रो सेमिफाइनल खेलमा देवचुली १ विजय हुँदै फाइनल प्रवेश गरेको छ । देवचुली १ ले देवचुली १३ लाई २-१ गोल अन्तरले हराउँदै विजयी भएको हो । देवचुली १ का सन्दिप मल्लले २ गोल गरेका थिए भने देवचुली १३ का चेतन मगरले गोल गरेका थिए । आजको दोस्रो सेमिफाइनल खेलमा देवचुली १ का सन्दिप मल्ल म्यान अफ दि म्याच भएका थिए । प्रतियोगिता अन्तरगत सोमबार देवचुली १ र देवचुली १६ बीच फाइनल खेल हुने आयोजकले जनाएको छ ।
देवचुली नगरपालिकाका १६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका अध्यक्ष बुद्धिबहादुर लुंगेलीले जानकारी दिनुभयो ।