आज:  २०८१ पौष १३, शनिबार | Sat, 28, Dec, 2024 Search
FLASH NEWS

शिक्षासँगै विद्यार्थीहरुलाई व्यवहारिक सीप सिकाउँदै मध्यबिन्दुको ज्ञानोदय मावि

    प्रकाशित २०८१ पौष १३, शनिबार (१७ घण्टा अघि)


देवचुली । मध्यविन्दु नगरपालिका वडा नम्बर १५ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले शिक्षासँगै विद्यार्थीहरुलाई व्यवहारिक सीप प्रदान सुरु गरेको छ । खुसी शुक्रबार कार्यक्रम अन्तरगत विद्यालयको जग्गामा विद्यार्थीहरुले आलु खेती गरेका हुन् ।

विद्यालयमा गुणस्तरीय शिक्षासँगै सीपसहित शिक्षालाई प्राथमिकता दिदैँ विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सिकाउन आलु खेती कार्यक्रम सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो । आलु खेतीका लागि कृषि ज्ञान केन्द्र नवलपुरले आलुको बीउ र मल उपलब्ध गराएको उहाँले बताउनुभयो । विद्यार्थीले शिक्षासँगै आलु खेती गर्दा सिकाई हुने , ज्ञान बढ्ने र केही कमाई पनि हुने भएकाले विद्यालयले ६ कठ्ठामा चार वटा जातका आलु खेती गरिएको हो । विद्यालयमा एम यस ४०, जनकदेव, काडियनल र चिप्स बनाउने आलुका बीउहरु रोपिएको र कुन जातको बढी उत्पादन हुन्छ भन्ने परीक्षण समेत गर्न लागिएको अध्यक्ष पाण्डेले बताउनुभयो । विद्यालयमा पुष्प खेती गरि फूल बिक्री वितरणबाट विद्यार्थीहरुले कमाई गरेका, नमुनाका लागि कागती खेती गरिरहेको र तोरी खेती समेत विद्यालयमा गरिएको
उहाँले बताउनुभयो ।

विद्यालयमा किताबी ज्ञान मात्र नभई अहिले कृषि अन्तर्गत आलु खेती, फूल खेती गर्दा धेरै नै ज्ञान हासिल गरेको कक्षा १० मा अध्ययनरत अनुप बिकले बताउनुभयो । सीप, ज्ञान सँगै केही कमाई नि हुने र आधुनिक कृषिमा कसरी उत्पादन बढाउन सकिन्छ भन्ने ज्ञान प्राप्त गरेको उहाँले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा संचालन भएको खुसी पाठ्यक्रम अन्तर्गत शुक्रबार विशेष कार्यक्रम अन्तर्गत आलु खेती सुरु गरिएको र सीपको सिकाई गरेको कक्षा ९ मा अध्ययनरत शितल चौधरीले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाले हाम्रो खुसी पाठयक्रम लागु गर्दै गर्दा विद्यार्थीको जीवनलाई किताबी ज्ञान भन्दा पनि फरक ढंगबाट जिवनशैलीलाई माटोसँग चिनाउने, प्रकृतिसँग चिनाउने, खेलकुदको क्षेत्रसँग जोडने,उनीहरुको शारीरिक मानसिक तन्दुरुस्तीका स्वस्थ्यकर जिवनसँग जोडने लगायतका प्रयोगात्मक कार्यक्रम गर्ने र पालिकामा खुसी शुक्रबार सुरु गरिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो । ज्ञानोदय माविले सो कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई आलु खेतीमा संलग्न गरेको छ, यो उत्पादनलाई विद्यार्थीहरुको दिवा खाजामा प्रयोग गर्ने गरि विद्यार्थीहरु उत्साहित भएर खेतीबारीमा जोडिएको उहाँले बताउनुभयो । समग्रमा सम्पुर्ण विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई जिवनमा फरक खालको खुसी , उर्जा प्रदान गर्नका निम्ति प्रकृतिसँग जोडने, स्वस्थ्य जिवनसँग जोड्ने र व्यवहार परिवर्तन/रुपान्तरणका लागि कार्यक्रम उपयोगी हुने उहाँको भनाई छ ।

विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक शिक्षा प्रदान गर्दा उनीहरुमा पढाईप्रति चासो बढेको विद्यालयका प्रधानाध्यापक टोकबहादुर सुनारीले बताउनुभयो । विद्यालयमा तरकारी खेतीको सिँचाइका लागि चितवन भुमिगत सयोजनात्मक जल सिँचाइको सहयोगमा बोरिङ निर्माणको कार्य भइरहेको र आगामी वर्षबाट धान खेती गर्ने योजना समेत रहेको उहाँले बताउनुभयो ।

Write your Comment