आज:  २०८१ पौष १०, बुधबार | Wed, 25, Dec, 2024 Search
FLASH NEWS

अब कावासोतीका वडाहरू मर्ज गर्न छलफल हुन्छ : नगर प्रमुख भुसाल

    प्रकाशित २०८१ पौष १०, बुधबार (१३ घण्टा अघि)


ज्ञानु पंगेनी ,कावासोती । कावासोती नगरपालिकाका वडाहरू समायोजन ( मर्ज) हुन सक्ने नगर प्रमुख विष्णु प्रसाद भुसालले बताउनुभएको छ । मंगलबार कावासोती ६ विष्णुनगरमा कावासोती नगरपालिकाको सेवा प्रवाह तथा बजेट कार्यक्रमका बारेमा सुसूचित गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले कावासोतीका वडा पनि समायोजन ( मर्ज ) हुन सक्ने सङ्केत गर्नुभएको हो । छिमेकमा रहेका वडाहरू समायोजन गर्न पहल सुरु भइसकेको सन्दर्भमा कावासोतीमा समेत वडा समायोजन गर्नका लागि राजनैतिक दलहरूसँग छलफल गर्ने तयारी रहेको नगर प्रमुख भुसालले बताउनुभयो ।

‘कावासोतीका कतिपय वडा निकै ठुलो र कुनै वडा साना छन् । अब ठुलो वडाहरू कुनै पनि हालतमा सरकारले विभाजन नगर्ने भएको हुँदा अब साना वडाहरू समायोजन गर्नतर्फ लाग्नुपर्ने छ । अब हामी हिउँदे सभापछि राजनैतिक दलसँग छलफल गर्ने तयारी गरेका छौँ । कावासोतीका करिब पाँच वटा वडा घट्न सक्छ ।’ नगर प्रमुख भुसालले भन्नुभयो ।

कार्यक्रममा कावासोती नगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्म गरेका कार्यक्रमका बारेमा प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणका क्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले सङ्घीय सरकारबाट प्राप्त ६६ करोड ३३ लाखमध्ये १९ करोड ४० लाख रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो । उहाँले करिब २९ प्रतिशत रकम खर्च भएको जानकारी गराउनुभयो । प्रदेश सरकारबाट प्राप्त ३२ प्रतिशत खर्च भएको जानकारी गराउनुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रस्तुतीकरण गरेपछि कार्यक्रममा सहभागी पालिकावासीले आआफ्नो प्रश्न , सुझाव तथा जिज्ञासा राखेका थिए । पालिकावासीले कावासोती नगरपालिकाबाट कर्मचारी छनौट देखी स्वास्थ्य चौकी सञ्चालन , सहकारीको अनुगमन , युवाको क्षेत्र , खेल क्षेत्र , कृषि क्षेत्रमा बजेटको कमी , कावासोतीको बसपार्क निर्माण किन बनेन ? वालुवा डाँडा भ्यु टावर किन सञ्चालनमा आउन सकेन ? , मदन भण्डारी स्मृति संस्थालाई दिएको बजेट पार्टी कार्यालयलाई दिएको हो की के हो ? लगायतका बारेमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।

पालिकावासीले राखेका प्रश्न , जिज्ञासाको कावासोती नगर प्रमुख विष्णु प्रसाद भुसाल , प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल , खेलकुद शाखा संयोजक तथा कावासोती १२ का अध्यक्ष ध्रुव खनाल ( दिपेश ) र सामाजिक शाखा संयोजक तथा कावासोती १७ का अध्यक्ष चूडामणि थनेतले जवाफ दिनुभएको थियो ।

यसै गरी नगर प्रमुख भुसालले समेत पालिकाले पार्टी कार्यालयलाई बजेट दिएको नभई मदन भण्डारी स्मृत संस्थालाई दिएको प्रस्ट पार्दै आफ्नै कार्यकालमा बिपी स्मृत भवनमा समेत नगरपालिकाले बजेट दिएको जानकारी गराउनुभयो । उहाँले यस अघिका जनप्रतिनिधि समितिले समेत विभिन्न समयमा बिपी स्मृति भवनका लागि बजेट छुट्टाएको बताउँदै पार्टी कार्यालयका लागि बजेट नदिएको प्रस्ट पार्नुभएको थियो ।

उहाँले वडाहरूमा रहेका कतिपय आधारभूत स्वास्थ्य चौकीमा सेवाग्राही नै नपुग्ने अवस्था रहेको हुँदा त्यसलाई सञ्चालन पनि कसरी गर्ने भन्ने अन्यौलता रहेको बताउनुभयो । एक वडा एक स्वास्थ्य चौकी भनेर सरकारले घोषणा गरे पनि ठुलो अस्पताल र मेडिकल भएको नजिकैको दुरीमा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नै नपुग्ने अवस्था रहेको उहाँले जिकिर गर्नुभयो । यस्तै भ्यु टावर सञ्चालनमा आउन नसकेको सन्दर्भमा , भ्यु टावर सञ्चालन गर्न वडा नम्बर एकले पहल गर्न जिम्मेवारी दिएको बताउनुभयो । भने बसपार्क वनको जग्गाको केही विवाद भएका कारण बजेट आउन नसक्दा निर्माण सुरु हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा कावासोती नगर उपप्रमुख फूल कुमारी थनेतले धन्यवाद मन्तव्य राख्दै नगरपालिकाको बजेट कार्यक्रमका सन्दर्भमा आएका सुझाव तथा जिज्ञासाहरूलाई आत्मसाथ गर्दै आफूहरूले आगामी बजेट कार्यक्रमलाई कार्यान्वयन गर्ने बताउनुभयो ।

कावासोती नगरपालिकाको आयोजना तथा टिबी मिडिया प्राविको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षता रहेको थियो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष याम बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने तीर्थराज डुम्रेले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment