देवचुली । देवचुली नगरपालिका वडा नम्बर १६ मा रहेको देवचुली माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सोमबार विद्यालय प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम सम्पन्न गरिएको हो।
देवचुली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टोपराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले शिक्षा क्षेत्रको सुधारको लागि राज्यले आवश्यक बजेट, नीति र कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक स्थितिमा निकै सुधार आएको भएता पनि वैदेशिक पढाईका लागि जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सक्ने अवस्था भने नभएको बताउनुभयो । देवचुली नगरपालिकामा विद्यालय समायोजनको प्रक्रिया सुरु भएको र समायोजनबाट विद्यार्थीहरुको शैक्षिक गतिविधिमा असर नपर्ने उहाँले बताउनुभयो । देवचुली नगरपालिकाले देवचुली माविलाई आवश्यक सहयोगका लागि साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्वराज पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न आगामी कार्ययोजना तथा विद्यालयको आवश्यकताको बारेमा समेत जानकारी गराउनुभएको थियो । वार्षिकोत्सवकै अवसर पारी देवचुली माध्यमिक विद्यालयमा समायोजन भएको देवचुली आधारभूत विद्यलयका विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई बाजासहित स्वागत गरिएको थियो । विद्यालयमा स्थापना भएका अक्षयकोषबाट विभिन्न कक्षामा पढ्ने आर्थिक अवस्था कमजोर भएका, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो । नगर स्तरीय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई विद्यालयले नगद सहित सम्मान गरेको थियो । वार्षिकोत्सवको कार्यक्रयमा विभिन्न कक्षाका विद्यार्थीहरुले सामुहिक नृत्य, सांस्कृतिक नृत्य तथा गायन पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिपेन्द्रराज श्रेष्ठले विद्यालयको शैक्षिक प्रगति राम्रो रहेको बताउँदै अझै नवीन कार्यको सुरुवात गर्न विद्यालयलाई शुभकामना समेत दिनुभएको थियो । कार्यक्रममा पुर्व व्यवस्थापन समितिका अध्यक्ष ललितबहादुर बोहरा, विद्यार्थी सुवास शर्माले मन्तव्य राख्नुभएको थियो ।
वार्षिकोत्सव कार्यक्रममा देवचुली नगरपालिका शिक्षा शाखाका प्रमुख रामप्रसाद शर्मा, देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चलिसे, विद्यलयका पुर्व व्यवस्थापन समितिका अध्यक्षहरु, पुर्व प्रधानाध्यापकहरु, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवी व्यक्तित्वहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रामचन्द्र ठकुरीले स्वागत गरेको कार्यक्रमको सहजीकरण शिक्षकद्वय कुलप्रसाद पौडेल र सावित्री पौडेलले गर्नुभएको थियो ।