अग्निधर भुसाल । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ (पुस ६) गतेलाई विश्व अन्तर्राष्ट्रिय ध्यान दिवसको मान्यता दिएको छ । संयुक्त राष्ट्रसंघको नोभेम्बर २९ मा सम्पन्न ७९ औ महासभाको बैठकको १२७ औँ बुँदामा उल्लेख गरेर अनुमोदन गरेको छ । नेपालमा पनि सोही दिन पुस ६ गते नेपाल सरकार, सङ्घीय सरकार र स्थानीय सरकार सबैले राष्ट्रिय महोत्सवको रूपमा विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्तिू नामक नाराका साथ मनाउने कार्यक्रम रहेको छ । योग र ध्यान शिक्षा एउटा यस्तो विषय हो जसले देशको विकास र व्यक्तिको व्यक्तित्व विकासमा विशेष योगदान पु¥याउँदछ । वि.सं. २०४९ सालदेखि विद्यालय शिक्षा अन्र्तगत र हाल आधारभुत र माध्यमिक तहमा योग तथा ध्यान शिक्षा पाठ्यक्रममा समावेश गरिए तापनि यसको कार्यान्वयनको अवस्था न्यून रहेको छ । चालू आर्थिक वर्ष २०८१/२०८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम र शिक्षामा समेत व्यक्तिको शारीरिक, मानसिक, र बौद्धिक विकासमा सहयोग पुर्याउन योग र ध्यान विषयलाई विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरी पठनपाठन गर्ने व्यवस्था मिलाइनेछ भनी उल्लेख गरिएको छ ।
विश्वव्यापीकरणका कारण संसार एक सानो ठाउँ वा गाउँका रुपमा परिवर्तन भइसकेको छ । मानिसले चाहेको भौतिक सुखका कारण आज मानव जीवन तनावयुक्त बन्न पुगेको छ ा संसारमा भएको भौतिक र पुँजी विकासका कारण मानिसले सुख प्राप्त गरे तापनि मानिस दिनँहु शारीरिक, मानसिक तनावको भुमरीमा फस्दै गएको छ । मानिसको दैनिक जीवनमा आइ पर्ने तनावका कारण संसारमा रहेका मानिसमा हृदयघात, डिप्रेसन, मस्तिष्क घात जस्ता रोग दिन प्रतिदिन बढ्दै गइरहेको पाइन्छ । यस्तो तनावरहित जीवनमा योग, ध्यान र प्रकृतिको खानपान नै मानव जीवनलाई तनावमुक्त बनाउने एक मात्र विकल्प हो । यो धारणा अहिले विश्वव्यापी बन्दै गइरहेको छ ।
योग र ध्यानले शारीरिक स्वास्थ्यलाई बलियो बनाई रोग प्रतिरोधात्मक शक्ति बढ़ाउने काम गर्छ । विश्वलाई शान्तिको बाटोमा हिडाउने गौतम बुद्धले आविष्कार गर्नुभएको ध्यान हिन्दु सनातन धर्म अनुसार भगवान कृष्ण, भगवान शिवले जानकारी गराएको कुरा र महर्षि पतञ्जलीले विकास गरेको योग विज्ञान तनावमा परेकालाई मुक्ति दिलाउने साधन बन्न सक्छ । योगले हाम्रो शारीरिक स्फूर्ति मात्र नभई हाम्रो स्मरण शक्ति पनि बढाउने काम गर्छ । योग र ध्यानले मानिसमा भएको सकारात्मक विचारलाई जगाउँछ । योग र ध्यानको बीचमा अन्योन्यश्रित सम्बन्ध भएकाले विश्वको परिवेश र माग अनुसार नेपालमा पनि योग र ध्यान शिक्षालाई पाठयक्रममा समेटी स्वस्थ र तनावरहित जीवन जीउँनका लागि सरोकारवाला पक्ष सचेत हुनु आवश्यक देखिन्छ ।
मानिसका जीवनमा आइपर्ने समस्याले उत्पन्न गराउने तनाव, नकारात्मक सोच र ऊर्जालाई हामीले ध्यान र योग गरेर हटाउन सकिन्छ । हजारौं तनाव र चिन्तासँंग लडन सक्ने क्षमता योग र ध्यानले प्रदान गर्छ । अहिलेका मानिसको जीवन निकै व्यस्त छ, मानिसहरु अस्वस्थ भोजनको सेवन गर्ने गर्छन् । किशोर र किशोरीहरु पनि धेरै भन्दा धेरै समय टि.भी, ल्यापटप, मोबाइलमा खर्च गर्छन् । बजारमा पाइने अस्वस्थ खानेकुराको सेवन गर्दा मानिस दिनप्रतिदिन रोगी बन्दै गइरहेको छ । यस्ता समस्याबाट मुक्ति पाउनका लागि योग र ध्यान अति आवश्यक छ । आत्माको परात्मासँगको जोड नै योग हो । योगले शरीर, मन र आत्मालाई एकाकार बनाई मन शान्त र स्थिर रहन मद्दत गर्छ । योगका कारणले तनाव घट्छ । मानसिक, शारीरिक स्वास्थ्य राम्रो हुन्छ, राम्रो निद्रा लाग्छ र मानिसको अनुहारमा चमक ल्याउन मदत गर्दछ । अत : योग चिन्तन हो, ज्ञान हो, मनको एकाग्रता हो र यो समाधितर्फको यात्रा पनि भएकाले आफ्नो शारीरिक अवस्थालाई ध्यानमा राखेर योग गर्ने हो भने विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ ।
प्राचीनकालमा ऋषिमुनी र साधकहरुले घर–गृहस्थी त्यागेर एकान्तमा ध्यान र साधना गर्ने कार्यलाई योग भनिन्थ्यो र त्यतिबेलाको समाजमा आम मानिसको लागि योग दुर्लभ मानिन्थ्यो । जसरी समाजको विकास हुँदै आयो, त्यस सँगसँगै समाजमा बढ्दै गइरहेको तनाव, भय, चिन्ता र अस्वस्थ प्रतिष्पर्धा, क्रोध, भोगलाई न्युनीकरण गर्न योग र ध्यान मार्फत् लाभ पुगेको पाइन्छ । पछिल्लो समयमा धेरै मानिसहरुले आफ्नो चौतर्फी विकासको लागि योग र ध्यान अभ्यासलाई दैनिकी बनाइरहेको पाइन्छ । ध्यान र योगद्वारा धेरै प्रकारका तनावबाट मुक्ति पाउन सकिने कुरा प्रमाणित भइसकेको छ । योग र ध्यानले मानिसलाई शान्ति दिन्छ । मानिसलाई आत्म सन्तुष्टी प्रदान गर्छ । तसर्थ आफ्नो जीवनमा आइलाग्ने तनाव र समस्यासँग लड्नका लागि योग र ध्यान विद्यालय तहदेखि अपरिहार्य गर्नु आजको आवश्यकता हो ।
स्वस्थ जीवनका लागि योग र ध्यानको महत्व :
योग शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास वा अनुशासनको एक समूह हो । एक आदर्श मानिस बन्न शारीरिक, मानसिक र सामाजिक रूपले स्वस्थ हुन जरुरी हुन्छ र त्यो स्वस्थ बनाउने प्रक्रियामा योग र ध्यानको महत्त्वपूर्ण भूमिका हुन्छ । अहिलेको समाजमा औषधी विज्ञानद्वारा पनि रोगमुक्त हुन नसकेका मानिसहरू पनि आज योगका कारणले पुनः जीवनयापन गर्न पाएको कुरा प्रशस्त रूपमा सुन्न र देख्न सकिन्छ । योगको कुनै पनि बेफाइदा नभएकाले सम्पूर्ण मानिसले यसको महत्व र फाइदा बुझी दिनहुँ अभ्यास गरेमा तन र मनमा फूर्ति आउँछ । मानिस शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुका साथै एक तन्दुरुस्त व्यक्तिमा परिवर्तन हुन्छ । योगको दिनहुँ अभ्यासले हाम्रो शारीरिक बलियो बनाई रोग प्रतिरोधात्मक शक्ति बढाउने काम गर्छ । शरीरमा रहेका महत्वपूर्ण अंगहरू जस्तै मुटु तथा रक्तसञ्चार प्रणाली, मृगौला तथा मूत्र प्रणाली र श्वासप्रश्वास प्रणालीलाई स्वस्थ र नियमित कार्य गर्न सहज गराउँछ ।
योगले मानिसको जीवनमा आइपर्ने सबै स्वास्थ्य समस्याहरूलाई पनि निवारण गर्न ठूलो भूमिका खेलेको हुन्छ । ध्यान एक शारिरीक र अध्यात्मिक अनुशासन हो । ध्यान मनलाई घरमा ल्याउने अभ्यास पनि हो । नियमित योग र ध्यान गर्ने मानिस र नगर्ने मानिसको बिचमा तुलना गर्ने हो भने योग गर्ने मानिस स्वस्थ र तन्दुरूस्त देख्न सकिन्छ । योग र ध्यान गर्ने मानिसहरुले सजिलैसँग विचलित मन र विचारलाई शान्त पारी कुनै पनि डर, त्रास र तनावको सामना नगरी मनलाई एकीकृत पारेर काम सु–सम्पन्न गर्न सक्छ तर योग नगर्ने मानिस कहिल्यै पनि मनलाई एकीकृत गराउन सफल हुँदैन । मानिस मानसिक तथा शारीरिक दुवै रूपमा अस्वस्थ भई केही कुराको पनि सही निर्णय लिन सक्दैन । त्यसैले योग र ध्यान गर्यौं भने हामी स्वस्थ्य बन्न सक्छौँ । अझ विद्यार्थी जीवनमा योग शिक्षाले अनुशासन, इमान्दारीता र लगनशीलता जस्ता पक्षको विकासमा टेवा पुर्याउँछ ।
वर्तमान समाजमा मानिसहरू रोगले ग्रसित हुनुको मुख्य कारण नै उनीहरूको गलत विचार, गलत आहार विहार र गलत जीवनशैली हुन् । हालको मानिस तथा बालबालिकाको मुख्य समस्या नै बाहिरी अखाद्य पदार्थको उच्च मात्रामा सेवन गर्नु हो । अव्यवस्थित रूपमा गरिरहेको खानपानले निम्त्याएको प्राणघातक रोगहरूले आज विश्व त्रसित हुन पुगेको छ । यस्ता प्राणघातक रोगहरूबाट योग र ध्यानले नै हामीलाई मुक्त गराउँछ र हाम्रो जीवनयापन प्रक्रियालाई स्वस्थ बनाउन सहयोग गर्दछ । अतः योग संसारभर लोकप्रिय छ । योगले मानसिक स्पष्टता दिन्छ । हामीलाई प्रकृतिसँग नजिक गराउने काम पनि योगले नै गर्छ । तसर्थ योग र ध्यानका धेरै फाइदा छन् । मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो आफैभित्र छ, जुन योग र ध्यानबाट प्राप्त हुन्छ भन्ने कुरालाई आत्मसात् गरी यसको अभ्यास दिनहुँ गर्न सकियो भने औषधी बिना दीर्घ जीवन बाँच्न सकिन्छ ।
समकालीन समाजमा देखा परेका विभिन्न समस्या समाधानका लागि योग शिक्षा र ध्यान विद्यालयमा लागू गर्नु आजको आवश्यकता रहेको छ । योग शिक्षालाई अनिवार्य विषयका रूपमा समावेश गर्न सके मात्र यसको प्रभावकारिता बढी हुने गर्दछ । वर्तमान समयमा मानवीय स्वास्थ्य सम्बन्धी समस्या दिनदिनै बढ्दै गइरहेको अवस्थामा योग शिक्षाले ती समस्या सामाधानमा प्रमुख भूमिका निर्वाह गर्न सक्दछ । योग विषय एक प्राचीन विषय हुँदाहुदै पनि यसको प्रयोग न्यून भएको कारण यसलाई नयाँ ढङगले विद्यालय शिक्षामा कार्यान्वयन गर्न मन्त्रालय अन्तर्गतका केन्द्रियदेखि स्थानीय सरकारले समेत पहल गर्नुपर्दछ । योग शिक्षा पाठ्यक्रममा लागू भएपछि यसको कार्यान्वयन तह भनेको कक्षाकोठा हो ।
कक्षाकोठामा पठनपाठन गर्ने शिक्षकलाई योगसम्बन्धी तालिम सञ्चालन गर्न सके निकै प्रभावकारी हुने देखिन्छ । सामान्यतया धनी वर्ग र बुढेसकालमा पुगेका मानिसमा मात्र सीमित रहेको योग तथा ध्यानलाई सर्वसाधारणसम्म पुर्याउनका लागि यसलाई विद्यालय तहबाट प्रभावकारी कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।
निष्कर्ष : विद्यालय समुदायको एउटा प्रतिबिम्ब हो । विद्यालयमा नियमित पठनपाठनमा प्रत्यक्ष संलग्न, शिक्षक, विद्यार्थी र अभिभावकलाई समेत योग र ध्यान आवश्यक देखिन्छ । योग र ध्यान शिक्षा मार्फत विद्यार्थीहरुको चौतर्फी विकास हुनुका साथै विद्यार्थीमा सकारात्मक सोचको विकास हुने, मानसिक विकास, रचनात्मकता र सिर्जनात्मकतामा वृद्धि हुने देखिन्छ । साथसाथै कार्य क्षेत्रमा देखिएका वा वर्तमान समयमा फैलिइरहेका विकृति, विसङ्गति, कुलत र वढ्दो प्रविधिको दुरुपयोगलाई न्युनीकरण गर्न समेत मद्दत पुर्याउँदछ । विद्यार्थी सँगसँगै विद्यार्थीलाई नियमित पठनपाठन गराउने शिक्षकलाई समेत खुसी, आनन्दित, रचनात्मक, कार्यकुशलता वृद्धि गराई गुणस्तरीय शिक्षा प्रदानमा समेत यसले सहयोग पुर्याउँदछ । अभिभावक विद्यालयका महत्वपूर्ण अंग रहेकाले अभिभावकलाई समेत विद्यालयका अभिभावक भेलामा १०–१५ मिनेट योग, ध्यानका बारेमा वुझाउनु, गराउनु र समुदायसम्म पुर्याउनु आजको आवश्यकता हो । जसका माध्यमवाट व्यक्तिलाई भित्रबाट शान्त बनाउने, आफ्नो कार्यक्षेत्र वा कार्यप्रति उर्जा प्रदान गर्ने र शरीर र मनका समस्या समाधान गर्ने गर्दछ । यसबाट नेपालले अवलम्वन गरेको लोकप्रिय नारा “समृद्ध नेपाल सुखी नेपाली”को लक्ष्य प्राप्तिमा समेत योगदान पुर्याउने छ । त्यसैले योग र ध्यान शिक्षालाई विद्यालयको आधारभूत तहदेखि नै र स्थानीय पाठ्यक्रमको अनिवार्य अङ्गका रुपमा पाठ्यक्रममा समावेश गर्नुपर्छ । यसका लागि दक्ष जनशक्ति उत्पादन गर्न सम्बद्घ सरोकारवाला लाग्नुपर्ने आवश्यकता देखिन्छ ।
(लेखक भीमसेन आदर्श नमूना माध्यमिक विद्यालय देवचुली ७ नवलपुरका प्रधानाध्यापक हुन् । )