देवचुली । देवचुली १७ मा रहेको परिवर्तन युवा तथा खेलकुद क्लबद्वारा वरचुली माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । क्लबले तिहार विशेष सांस्कृतिक कार्यक्रमबाट संकलित रकम बचत गरि विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । शुक्रबार वरचुली माध्यमिक विद्यालयमा देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेको विशेष उपस्थितिमा ५० हजार ५ सय ५५ रुपैयाँ अक्षयकोषका लागि हस्तान्तरण गरिएको क्लबका अध्यक्ष रेजिना घर्ती मगरले जानकारी दिनुभयो ।
वरचुली माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न र जेहेन्दार विद्यार्थीहरुको शिक्षामा सहयोग पुर्याउनका लागि अक्षयकोषको स्थापना गरिएको अध्यक्ष घर्ती मगरले बताउनुभयो । अक्षयकोषबाट आउने वार्षिक ब्याजबाट शैक्षिक सहयोग गरिने र आगामी दिनमा अक्षयकोषको रकम थप्दै जाने समेत उहाँले बताउनुभयो । समुदायमा सामाजिक अभियानमा क्लब सदैव अगाडी रहने उहाँको भनाई छ ।
अक्षयकोषको रकम हस्तान्तरण कार्यक्रममा देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे, प्रधानाध्यापक चन्द्रदेव तिवारी, शिक्षकहरु, विद्यार्थीहरु, क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तिहारमा संकलित सहयोगबाट विद्यालयमा अक्षयकोष स्थापना गरिनु उदाहरणीय काम भएको देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेले बताउनुभयो । विद्यालयमा प्राप्त अक्षयकोषको रकमबाट क्लबको उद्देश्य अनुसार छात्रवृत्ति प्रदान गरिने वरचुली माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रदेव तिवारीले बताउनुभयो ।
परिवर्तन युवा तथा खेलकुद क्लबले देवचुली १७ मा खेलकुद लगायत सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।