आज:  २०८१ पौष ६, शनिबार | Sat, 21, Dec, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

    प्रकाशित २०८१ पौष ५, शुक्रबार (१ दिन अघि)


देवचुली । देवचुली नगरपालिकाको हिउँदे अधिवेशन चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम संशोधन सहित सम्पन्न भएको छ । नगरसभाले नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तुत गरेको विभिन्न प्रस्तावहरु पारित गरेको छ । शुक्रबार नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफल पछि नगर सभा सदस्यहरुले नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तावको पक्ष र विपक्षमा मत राख्न गरेको आह्वानमा बहुमत नगरसभा सदस्यले हुन्छ भन्ने मत राखेसँगै प्रस्तावहरु बहुमतले पारित भएको नगरप्रमुख न्यौपानेले सभामा जानकारी गराउनुभयो ।

नगरसभामा विधायन समितिका संयोजक एकदेव पौडेलले मुलुकी देवानी कार्यविधी २०७४ अनुसार लिखित प्रमाणित २ हजार रुपैयाँ भएकोमा संशोधन गरि २ सय रुपैयाँ कायम गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि नगर उपप्रमुख पार्वता तिवारीले सभामा चालु आर्थिक वर्ष २०८१ /०८२ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षको पहिलो ५ महिना मंसिर मसान्तसम्मको वित्तिय प्रगति समीक्षा समेत प्रस्तुत गर्नुभएको थियो ।

नगर सभाको छ्लफलमा नगर सभा सदस्यहरुले संशोधित बजेटमाथि जिज्ञासा राख्नुभएको थियो । उठेका सवालहरु माथि देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, नगर उपप्रमुख पार्वता तिवारीले प्रष्ट पार्नुभएको थियो । सभाका संचालन प्रमुख प्रशासकीय अधिकृत दिवाकरले गर्नुभएको थियो ।

Write your Comment