नवलपुर । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८१ पुस ४ गते नवलपरासी (सुस्ता पूर्व)मा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नवलपरासी (सुस्ता पूर्व)को आयोजनामा सरोकारवालाबिच जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक र उक्त विषयमा छलफल भएको हो ।
जिल्ला समन्वय समिति नवलपरासी पूर्व नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले इन्सेकले नेपालको सन्दर्भमा मानव अधिकारको विषय उठाउने भूमिका निर्वाह गर्दै आएकोमा संस्थालाई धन्यवाद दिनुभयो । उहाँले मानव अधिकार हनन भएको कुरालाई उठाउने ,व्यक्तिको अधिकारको कुरा उठाउने चानचुने विषय नभएको बताउनुभयो । ‘मान्छे बरु एक छाक भोको बस्न सक्छ, तर उसको अधिकार हनन हुन्छ भने , मरेको भन्दा पनि बढी पीडा हुन्छ, मान्छे एक पटक मर्छ सकिन्छ ,तर उसको अधिकार पटक पटक हनन भएर बाच्नु भनेको मर्नुभन्दा पनि पीडादायक हुन्छ । यसैले यो विषय गम्भीर विषय हो । इन्सेकले यसलाई अघि बढाउँदै आएकोमा धन्यवाद दिन चाहन्छु ।’ जिसस प्रमुख विश्वकर्माले भन्नुभयो ।
अन्धविश्वास, कु परम्परा, कुसंस्कारले जकडिएको समाज अझै पनि रहेको , मानव मानव बिचको भेदभाव कायमै रहेको , जातीय भेदभाव ,लैङ्गिक भेदभाव अझै पनि रहेको र योसँगै मानव अधिकारका हन्नका घटना समेत भइरहेको भन्दै यस विषयलाई समेत गम्भीरताका साथ उठाउनुपर्ने उहाँले बताउनुभयो ।
नागरिकलाई राज्यबाट दिने अनिवार्य तथा निःशुल्क शिक्षा प्राप्त गर्ने हक हुनेछ भनेर परिभाषित संविधानले गरेको तर यस्तो हुन अझै नसकेको भन्दै यस तर्फ राज्यले ध्यान दिनुपर्ने जिसस प्रमुख विश्वकर्माले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले मानव अधिकारका सवालमा अक्षरमा लेखिएका विषय कार्यान्वयनमा लैजाने तर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । स्थानीय तहका वडा तह देखिनै मानव अधिकार उल्लङ्घनको जोखिमको क्षेत्र पहिचान गरी त्यसलाई सुधार गर्न लाग्नुपर्ने भन्दै यसका लागि कुन निकायले के गर्न सकिन्छ सोही अनुसार मानव अधिकार रक्षाका लागि ध्यान दिनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक भानु शर्माले मानव अधिकारको प्रत्याभूत गराउने विषयमा आफूहरू समेत सँगैसँगै रहेको बताउनुभयो । प्रहरीका काम कारबाही मूल रूपमा मानव अधिकार संरक्षण गर्ने, मानव अधिकारको प्रवर्द्धन गर्ने नै भएको उहाँले बताउनुभयो ।
बेलाबेलामा प्रहरी दमन भयो ,मानव अधिकारको हनन भयो भन्ने विषय उठ्ने गरेको भन्दै प्रहरीले चाहेर त्यस्तो मानव अधिकार हन्नका घटना नगरेको बताउँदै कहिले काहीँ अवस्था नियन्त्रण गर्ने प्रयास गर्दा त्यस्तो देखिए पनि मानव अधिकार संरक्षण गर्ने कुरामा प्रहरी एकदम सचेत र संवेदनशिल रहेको उहाँले बताउनुभयो । उहाँले नवलपुरको हकमा सडक मानवको व्यवस्थापनका विषयमा समेत सबै सरोकारवाला लाग्नुपर्ने बताउनुभयो ।
राज्य पक्षबाट हुने मानव अधिकार हन्नका विषय त्यति आउन नसकेको भन्दै यसको समेत खोजी गर्नुपर्ने नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका सचिव भविश्वर पाण्डेले बताउनुभयो । प्रहरीले समयमा पीडितको मुद्दा दर्ता नगर्नु पनी एक किसिमको मानव अधिकारको हनन भएको बताउँदै यसको समेत खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले इन्सेकले वातावरणको सवालमा समेत विषय उठाउन थालेकोमा धन्यवाद दिनुभयो । वातावरणका कारण मानव अधिकार हनन भएका विषय उठाउनु आजको आवश्यकता भएको अध्यक्ष पराजुलीले बताउनुभयो ।
आदिवासी ,जनजाति महासङ्घ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले आदिवासी, जनजाति, समाजका गरिब र कमजोर मानिएको वर्ग प्राय पीडित हुने गरेको भन्दै उनीहरूको मानव अधिकारको प्रत्याभूत गराउन राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । जिल्ला समन्वय अधिकारी जितेन्द्र जङ्ग केसीले संविधानमा उल्लेख भएको मानव अधिकारको प्रत्याभूत गराउन लाग्ने निकायलाई झकझकाउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि दयाराम आचार्यले इन्सेकले सन २०२४ को अवधिमा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरू , वातावरणका अधिकारका सवालमा जिल्लाका विषय प्रस्तुत गर्नुभएको थियो ।