नवलपुर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नवलपुर जिल्लामा खेलाडी दर्ता गर्ने म्याद थप गरिएको छ। जिल्ला खेलकुद विकास समितिले पुस १ गते सूचना प्रकाशित गरी विसं २०८१ चैत २३ गतेदेखि ३० गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी दर्ता गर्ने म्याद थप गरिएको हो।
यसअघि खेलाडी दर्ता फाराम भर्ने म्याद विसं २०८१ मङ्सिर ३० गतेसम्म कायम रहेकामा जिल्लाका खेलाडीको दर्ता गर्नबाट छुट भएको गुनासो आएपछि यही पुस १ गतेदेखि ९ गतेसम्म म्याद थप गरिएको समितिका अध्यक्ष सेतबहादुर पुनले जानकारी दिनुभयो । कार्यालयले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बृहत छलफलका लागि जिल्लामा रहेका २६ वटा खेल संघलाई पुस ५ गते बैठकमा बोलाइएको उहाँले बताउनुभयो । फारम नभर्ने खेलाडीले पालिका, जिल्ला र प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन नपाउने भएकाले खेल संघसँग छलफल गर्न लागिएको उहाँको भनाई छ ।
कार्यालयले फुटबल, भलिबल, क्रिकेट, बाँस्केटबल, ब्याडमिन्टन, खो खो, बक्सिङ, साइक्लिङ, बुद्धिचाल, कबड्डी, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, उसु, जिम्न्यास्टिक्स, लन टेनिस, एथ्लेटिक्स, कराँते, फुल कन्ट्याक्ट कराँते, सेपाकताक्रो लगायत खेलका लागि खेलाडी दर्ता आह्वान गरेको छ।