कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कावासोती १२ वडा कार्यालयको आयोजना पिठौली स्वास्थ्य चौकीको प्राविधिक सहयोग साथै शुभ बायोमेडिकल कन्सर्न प्रालि, वान हेल्थ क्लिनिक र जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा शनिबार पिठौली स्वास्थ्य चौकीमा नि:शुल्क स्वास्थ्य शिविर गरिएको हो ।
वडाको आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना अन्तरगत वडाबासीको स्वास्थ्य परीक्षण गर्नका लागि शिविरको आयोजना गरिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । वडाबासीहरुलाई ठुलो अस्पतालहरु जान दुरीको हिसाबले टाढा र वडामा सीमान्तकृत समुदायको बाहुल्यता रहेकाले विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य चौकीमा नै शिविर राखिएको उहाँले बताउनुभयो । वडाले आगामी दिनमा समेत विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा शिविर संचालन गर्ने उहाँले बताउनुभयो । ` वडा कार्यालयले वडाबासीहरुको स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरिरहेका छौं´ वडा अध्यक्ष खनालले भन्नुभयो ।
शनिबार भएको स्वास्थ्य शिविरमा वरिष्ठ बालरोग विशेषज्ञ डा. सुमनराम श्रेष्ठ र छाला तथा यौनरोग विशेषज्ञ डा. सुमित पौडेलद्वारा बिरामीको परीक्षण गरिएको हो । शिविरमा १०१ वर्षीय ज्येष्ठ नागरिक सेतिमाया गुरुङको उपचार गरि शिविरको उदघाटन गरिएको थियो । कावासोती १२ का वडाबासीलाई आयोजना गरिएको शिविरमा पिठौली स्वास्थ्य चौकीमा उपलब्ध हुने ल्याब सेवा परीक्षण निशुल्क गरिएको आयोजकले जनाएको छ ।