देवचुली । देवचुली ५ को सकला देवी माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ । हाम्रो प्रयास फाउन्डेसनको आयोजना तथा देवचुली नगरपालिकाको सहयोगमा बुधबार सकलादेवी माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई सचेतना प्रदान गरिएको हो ।
विद्यालय तहमा पढ्ने विद्यार्थीहरु लागुऔषधको दुर्व्यसनमा फस्ने गरेको र समयमै सचेतना प्रवाह गर्न सके लागुऔषध दुर्व्यसनी न्यूनीकरण हुने हाम्रो प्रयास फाउन्डेसनका अध्यक्ष राकेश पन्तले जानकारी दिनुभयो । लागुऔषध दुर्व्यसनी एक प्रकारको रोग भएकाले यसबाट निस्कनका लागि स्वयं व्यक्ती नैतिक, आध्यात्मिक र भावनात्मक हिसाबले पुनःस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । आफु पनि १० वर्ष जति दुर्व्यसनमा फसेको र त्यहाँबाट निस्कन सफल भई समुदायमा सचेतना प्रवाह गर्न अभियानमा लागेको उहाँको भनाई छ ।
हाम्रो प्रयास फाउन्डेसनका अध्यक्ष राकेश पन्तको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रमा देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिराम पोख्रेल, शिक्षक अभिभावक संघका अध्यक्ष लेखबहादुर राना, विद्यालयका प्रधानाध्यापक लक्ष्मी सिवाकोटी, इलाका प्रहरी कार्यालय रजहरका वरिष्ठ नायव निरीक्षक गोपाल कुँवर, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले विद्यालय तहका विद्यार्थीहरुलाई सचेतना गरि लागू औषध दुर्व्यसनबाट बचाउनु पर्ने बताउनुभयो । अहिले राम्रोसँग सचेत गराउन सकेमात्र उनीहरु दुर्व्यसनमा फस्ने सम्भावना कम हुने बताउनुभयो । त्यसै गरि विद्यालयका प्रधानाध्यापक लक्ष्मी सिवाकोटीले आफ्नो विद्यालयमा महत्वपूर्ण सचेतनाको कार्यक्रम संचालन गरेकोमा आयोजकलाई धन्यवाद दिदै आगामी दिनमा समेत सचेतनाका कार्यक्रमलाई निरन्तरताका लागि अनुरोध समेत गर्नुभएको थियो ।
कार्यक्रममा मनोसामाजिक परामर्शदाताहरु मधु लामिछाने र मनिष न्यौपानेले लागुऔषधको दुर्व्यसनमा कसरी फस्न पुगिन्छ र त्यहाँबाट निस्कन के के गर्ने लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । त्यसै गरि इलाका प्रहरी कार्यालय रजहरका वरिष्ठ नायव निरीक्षक गोपाल कुँवरले लागुपदार्थ सेवन, ओसारपसार गरेको थाहा भएमा हुने कानुनी सजायको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । त्यसै गरि हाम्रो प्रयास फाउन्डेसनका अध्यक्ष राकेश पन्तले आफु दुर्व्यसनमा फस्दा आफ्ना कठिन भोगाईहरुको बारेमा जानकारी सहित सचेतना प्रवाह गर्नुभएको थियो ।
कोही व्यक्तिहरु पनि लागु औषधको दुर्व्यसनमा फस्न नहुने र यदि फसेमा त्यस्ता व्यक्तिहरुको सुधार सम्भव भएको हाम्रो प्रयास फाउन्डेसनका सचिव अर्मान मियाले बताउनुभयो । देवचुली १० मा कार्यालय रहेको फाउन्डेसनले कुलतमा फसेकाहरुलाई परामर्श दिनुका साथै विद्यालय तथा समुदायका लागुऔषध प्रयोगबाट हुने मानसिक शारीरिक क्षतिको बारेमा सचेतना प्रवाह गर्दै आइरहेको मियाले बताउनुभयो । मियाका अनुसार बिहीबार देवचुली ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरिने जानकारी दिनुभएको छ ।