आज:  २०८१ मंसिर २६, बुधबार | Wed, 11, Dec, 2024 Search
FLASH NEWS

मध्यविन्दुमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कानुन सम्बन्धि सचेतना तथा अन्तरक्रिया सम्पन्न

    प्रकाशित २०८१ मंसिर २४, सोमबार (२ दिन अघि)


मध्यबिन्दु । मध्यविन्दु नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कानुन सम्बन्धि सचेतना तथा अन्तरक्रिया सम्पन्न गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुर र फुलबारी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना साथै शिक्षाका लागि राष्ट्रिय अभियान केन्द्रिय कार्यालय काठमाडौंको सहकार्यमा मध्यविन्दु ३ इटौरामा कानुन सम्बन्धि सचेतना तथा अन्तरक्रिया गरिएको हो ।


शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुर शाखाका अध्यक्ष बद्रीनाथ नेपालको अध्यक्षतामा भएको मध्यविन्दु ३ का वडा सदस्य यमकुमारी महतोको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा विद्यार्थी, आमा समुहका प्रतिनिधि , युवा क्लबका प्रतिनिधि र फुलबारी सामुदायिक पुस्तकालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि महतोले हिंसा अन्त्यका लागि सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । समुदायमा हिंसा भएमा उजुरी गरि कानुनी दायरामा ल्याउनका लागि लाग्नुपर्ने र समुदायमा मिलापत्र गर्ने कुराको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । समाजसेवी सुभाष नेपालले समुदायमा हिंसा न्यूनीकरणका लागि सचेतनाका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । आफू पनि हिंसा नगर्ने र अरुले हिंसा गरे नसहने बानीको विकास गर्नुपर्ने, यदि हिंसामा परे सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने उहाँले बताउनुभयो ।


अन्तरक्रिया कार्यक्रमबाट समुदायमा हिंसा न्यूनीकरण कसरी गर्ने र हिंसामा परे कानुनी उपचारका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्था शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुर शाखाका अध्यक्ष बद्रीनाथ नेपालले बताउनुभयो । समुदायमा सचेतनाका लागि कार्यक्रमले सघाउ पुर्‍याउने उहाँले बताउनुभयो ।

कार्यक्रममा पत्रकार राजु चापागाईले लैंगिक हिंसा, यसका प्रकार, हिंसा हुने स्थानहरु, हिंसा को को बाट हुन सक्छ, हिंसामा परेमा के गर्ने, हिंसामा परेमा उजुरी दिने स्थानहरु, कानुनी सचेतना र हिंसा न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको संचालन फुलबारी सामुदायिक पुस्तकालयका सचिव काशिराम पाठकले गर्नुभएको थियो ।

Write your Comment