आज:  २०८१ मंसिर २६, बुधबार | Wed, 11, Dec, 2024 Search
FLASH NEWS

तोरीले पहेँलपुर नवलपुरका फाँट

    प्रकाशित २०८१ मंसिर २४, सोमबार (२ दिन अघि)


नवलपुर । यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का अधिकांश फाँट तोरी फुलेर पहेँलपुर भएका छन् । अधिकांश स्थानमा बारी, खाली जमिनदेखि ठूला फाँटमा लगाइएको तोरी फुलेर पहेँलै देखिन्छन् ।

जिल्लामा तोरी लगाउने क्षेत्रफलसँगै उत्पादन बढेका कारण नवलपुरले तोरीमा आफ्नो ‘साख’ पुनः फर्काउँदै गएको छ । गैँडाकोट–४ का रामप्रसाद खनियाले यसपालि गैँडाकोटका प्लटिङदेखि ठूला फाँटमा समेत तोरीखेती गरिएको बताए । “अहिले सबैतिर तोरी फूलेको दृश्य देख्न सकिन्छ । विगतमा गहुँ लगाउने खेतमा समेत यसवर्ष तोरी देखिन्छ”, उनले भने । खनियाले आफूले पनि यसवर्ष करिब २० कठ्ठा क्षेत्रफलमा तोरीखेती गरेको बताए ।

कावासोती–१७ का नन्दराम गुरौँले तोरीको माग र तेलको मूल्य बढ्न थालेपछि यसतर्फ आकर्षण बढेको बताए । “तोरी लगायो भने घरबाटै बिक्री हुन्छ, आम्दानी पनि राम्रो छ”, उनले भने- “अरु बाली लगाउँदा सिँचाइ, मल तथा विषादी धेरै हाल्नुपर्छ तर तोरीमा थोरै मेहनत गर्दासमेत राम्रो उत्पादन हुन्छ ।” उनले एक बिघामा तोरी लगाएका छन् ।

कृषि ज्ञान केन्द्र नवलपुरकाअनुसार पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा तोरीखेती गरिने क्षेत्रफलमा उतारचढाव आएको भए पनि उत्पादकत्व भने लगातार बढेको देखिन्छ । कार्यालयका कृषिप्रसार अधिकृत एवम् सूचना अधिकारी विश्वास काफ्लेले जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ८५ हेक्टर र आव २०८०/८१ मा एक हजार एक सय ७८ हेक्टर क्षेत्रफलमा तोरीखेती भएको बताए । यस्तै, चालु आव २०८१/८२ मा एक हजार एक सय ८७ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रले जनाएको छ ।

आव २०७९/८० मा जिल्लामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरीको उत्पादन हुँदा उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०८ मेट्रिक टन रहेको सूचना अधिकारी काफ्लेले जानकारी दिए। आव २०८०/८१ मा एक हजार दुई सय ८३ मेट्रिक टन तोरी र उत्पादकत्व प्रतिहेक्टर एक दशमलव ०९ मेट्रिक टन पुगेको छ । अघिल्ला वर्षमा भन्दा यसवर्ष तोरीको क्षेत्रफलसमेत वृद्धि भएकाले उत्पादकत्वसमेत बढ्ने अनुमान गरिएको काफ्लेको भनाइ छ ।

उनले भने- “किसान बालीप्रति सचेत हुँदै समयमै बीउ छर्ने, मल हाल्ने तथा सिँचाइ गर्ने गरेका कारण निरन्तर उत्पादकत्व बढ्दै गएको छ ।” जिल्लाको बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाबाहेक छवटै पालिकामा तोरी उत्पादन हुँदै आएको सूचना अधिकारी काफ्लेले बताए । सबैभन्दा बढी कावासोती र गैँडाकोटमा तोरीको उत्पादन भने उनले बताए । – रासस

Write your Comment