नवलपुर । मध्यविन्दु १५ मा ज्ञानोदय डिप ट्युबवेल शिलान्यास गरिएको छ । चितवन भुमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको सहयोगमा निर्माण गर्न लागिएको डिप ट्युबवेलको मध्यबिन्दु १५ का वडा अध्यक्ष यमबहादुर केसीले शिलान्यास गर्नुभएको हो ।
ज्ञानोदय डिप ट्युबवेल सिँचाइ समितिका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा मध्यविन्दु १५ का वडा अध्यक्ष यमबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले डिप ट्युबवेल निर्माण भएपछि यस क्षेत्रको सिँचाइमा सहयोग पुग्ने बताउनुभयो । कृषि पेशालाई सहज बनाउनका लागि हिउँदे सिँचाइबाट तरकारी खेती अझ सहज हुने उहाँले बताउनुभयो ।
डिप ट्युबवेल निर्माणपछि स्थानीय समुदायमा खेतीपातीमा सिँचाइ गर्न र वडामा रहेको ज्ञानोदय माध्यमिकलाई कृषि क्याम्पस बनाउन पुर्वाधार तयार गर्नका लागि डिप ट्युबवेलले सहयोग पुर्याउने ज्ञानोदय डिप ट्युबवेल सिँचाइ समितिका अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो । विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम अन्तरगत तरकारी खेती, कागती खेती र फलफुल खेती गर्न सहज हुने उहाँले बताउनुभयो । सबैले कृषिलाई प्राथमिकता दिएर काम गर्न आवश्यक रहेको बताउँदै कृषिउपजको बजारीकरणमा समस्या नरहेको उहाँले बताउनुभयो । असार मसान्तसम्ममा डिप ट्युबवेल सम्पुर्ण काम सकिने उहाँले जानकारी समेत दिनुभयो ।
शिलान्यास कार्यक्रममा वडा सदस्य रामचन्द्र ज्ञवाली, ज्ञानोदय माध्यमिक विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी पाण्डे, हरि पाण्डे, रतनबहादुर महतो, अरुणखोला बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम पाण्डे, प्रसौनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कमल पाण्डे, सहकारी संस्थाका अध्यक्षहरु तिलु थापा, डोलराज कंडेल, अन्जु श्रेष्ठ, कृष्ण खनाल, ज्ञानोदय माध्यमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष पिताम्बर पाण्डे लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टोकबहादुर सुनारीले गर्नुभएको थियो ।