आज:  २०८१ मंसिर २६, बुधबार | Wed, 11, Dec, 2024 Search
FLASH NEWS

पिकनिकका लागि उत्कृष्ट गन्तव्य बन्दै देवचुलीको घुमाउरी

    प्रकाशित २०८१ मंसिर २३, आईतबार (३ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको घुमाउरी सामुदायिक वन क्षेत्र स्थित घुमाउरी बनभोज स्थल आन्तरिक तथा वाह्य पर्यटकको लागि गन्तव्यसँगै बनभोज स्थलको रुपमा विकास भएको छ । शुक्रबार र शनिबार ३० वटा समूह भन्दा बढी समुह पिकनिकका लागि आउने गरेको घुमाउरीमा अन्य दिनमा १० भन्दा बढी समूह पिकनिकका लागि आउने गरेको वनले जनाएको छ ।

नवलपुर जिल्लाबाट मात्रै नभई छिमेकी जिल्लाबाट समेत धेरै समूहहरू पिकनिकका लागि आउने गरेको र केहि महिना दैनिक पिकनिकका लागि आउने समूहको संख्या बढ्दै जाने घुमाउरी सामुदायिक वनका अध्यक्ष पार्वती राउलले बताउनुभयो । जिल्लाका विभिन्न क्षेत्र सहित चितवन , रुपन्देही लगायतका क्षेत्रबाट यहाँ घुमफिर, रमाइलो सहित बनभोज खान समूहहरू आउने गरेको उहाँले बताउनुभयो । ‘पछिल्लो समय यहाँ आउनेको संख्या बढेको छ, जिल्ला सहित जिल्ला बाहिरबाट समेत अवलोकन र बनभोज खान समूह आउने गरेकाछन् ’ अध्यक्ष राउलले भन्नुभयो ।

पिकनिक स्थलसम्म आउनका लागि सहज सडक,पर्याप्त पिउने पानी , विद्युत ,दाउरा,आवश्यक पर्नेका लागि खाना पकाउने भाँडा, नि:शुल्क इन्टरनेटको व्यवस्था साथै पिक्निकको लागि स्टलको व्यवस्था सहज भएकाले सबैको गन्तव्य घुमाउरी बन्दै गएको घुमाउरी सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष सोमबहादुर सेन्चुरीले बताउनुभयो । पहाडी काख र हरियाली वन क्षेत्र आफैमा रमणीय भएकाले यहाँ आन्तरिक सहित बाह्य पर्यटकको आकर्षण बढ्दो रहेको छ । पूर्व पश्चिम राजमार्गको प्रगतिनगरबाट करिब ४ किलोमिटरको दूरीमा रहेको घुमाउरीलाई पर्यटकीय स्थल तथा बनभोज स्थलका रुपमा विकासका लागि वन मार्फत ठूलो पहल भएको छ ।

२३४ हेक्टर वन क्षेत्र रहेको घुमाउरी सामुदायिक वनको ७ हेक्टरमा फैलिएको घुमाउरी पिकनिक स्थललाई ३३.७७ हेक्टरमा फैलाउने गरि कार्ययोजना तयार पारिएको अध्यक्ष राउलले बताउनुभयो । यस क्षेत्रको विकासको लागि स्थानीय ,प्रदेश तथा संघीय सरकारसँग अनुरोध गरि प्रत्येक वर्ष केही न केही नयाँ योजनाहरू सम्पन्न गर्दै आएको उहाँले बताउनुभयो । पिकनिकमा आउँदा रमाईलो मात्र नभई हरियाली प्राकृतिक सौन्दर्यको साथ घुम्न मिल्ने गरि थप फूलको बगैंचा ,वनस्पति बगैंचा लगायतको निर्माण गरिने र घुमाउरीलाई अध्ययन केन्द्र बनाउने राउलले बताउनुभयो ।

घुमाउरी सामुदायिक वन अन्तर्गतको सानो क्षेत्रमा रहेको पिकनिक स्थलमा प्राकृतिक र शान्त वातावरण भएकाले धेरै समूहहरू रमाइलो गर्न, घुम्नका लागि आउने गरेका छन् ।बालबालिकाहरुका लागि खेल्न निर्माण गरिएका संरचनाले यहाँ पुग्ने बालबालिकाले समेत रमाइलो गर्ने गरेका छन् । गत वर्ष घुमाउरी पिकनिक स्थलले वार्षिक करिब सात लाख आम्दानी गरेको व्यवस्थापक उमा घर्ती मगरले बताउनुभयो । नि:शुल्क प्रवेश गर्न पाईने घुमाउरी पिकनिक स्थलमा स्टलको लागि न्यून सेवा शुल्क लिने गरेको र सो शुल्कबाट पिकनिक स्थलको व्यवस्थापन तथा सरसफाईका लागि खर्च गर्ने गरेको घर्ती मगरले बताउनुभयो । घुमाउरीमा चहलपहल बढ्दै जाँदा यस क्षेत्र नजिक रहेका स्थानहरुमा समेत आर्थिक क्रियाकलाप बढ्न थालेको छ ।

Write your Comment