देवचुली । देवचुली ७ मा संचालित वडास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि देवचुली ९ ले जितेको छ । वडा खेलकुद विकास समिति देवचुली ७ को आयोजना, देवचुली ७ वडा कार्यालयको सहकार्य र नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा देवचुली ७ मा रहेको लालीगुँरास युवा क्लबको प्राङ्गणमा मंसिर १५ गतेदेखि संचालित वडास्तरीय खुला भलिबल प्रतियोगितामा मधुकोटलाई हराउँदै देवचुली ९ ले उपाधि जित्न सफल भएको हो ।
बुधबार भएको फाइनल खेलमा देवचुली ९ ले मधुकोटलाई ३-० को सोझो सेटले हराएको थियो । बुधबार भएको पहिलो सेमिफाइनलमा देवचुली ७ रामबासलाई मधुकोटले २-१ को सोझो सेटले हराएको थियो भने दोस्रो सेमिफाइनलमा देवचुली ९ ले शंखदेवलाई २-० को सोझो सेटले हराउँदै फाइनल प्रवेश गरेको वडा खेलकुद विकास समिति देवचुली ७ का अध्यक्ष मनिष आले मगरले जानकारी दिए ।
प्रतियोगिताको बिजेता देवचुली ९ ले नगद २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता मधुकोटले नगद १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनल पुग्ने देवचुली ७ रामबास र हुप्सेकोट ४ शंखदेवले नगद ५/५ हजार रुपैयाँ प्राप्त गरेका छन् । १३ टिमको सहभागिता रहेको प्रतियोगितामा देवचुली ७ रामबासका रोहित जर्गा र शंखदेवका एलिस सारु मगर उदीयमान खेलाडी घोषणा भएका थिए ।
खेलकुद विकास समिति देवचुली ७ का अध्यक्ष मनिष आले मगरको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा देवचुली ७ का वडा अध्यक्ष भुमिसरा थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो । प्रतियोगिताका बिजेता / उपबिजेताहरुलाई प्रमुख अतिथिद्वारा पुरस्कार वितरण गर्नुभएको थियो ।