देवचुली । देवचुलीमा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मंगलबार खेलकुद प्रतियोगिता गरि मनाइएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ कार्यक्रम गरी दिवस मनाइएको हो । देवचुली नगरपालिकाको आयोजना, देवचुली नगर युवा तथा खेलकुद विकास समितिको समन्वय र विभिन्न संघसंस्थाको सहयोगमा देवचुली १३ मा रहेको साहारा पार्टी प्यालेसमा खेलकुद कार्यक्रम गरिएको हो ।
अपाङ्गता समन्वय समिती देवचुलीका संयोजक समेत रहनुभएकी देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटनमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर युवा तथा खेलकुद विकास समितिका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मंगलबार अपाङ्गता भएका व्यक्तिका लागि छैंटो फुटाल्ने खेल, म्युजिकल चियर, व्हिलचियर दौड र चित्रकला प्रतियोगिता गरिएको देवचुली नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख विमला लम्सालले जानकारी दिनुभयो । छैंटो फुटाल्ने खेलमा रेवती बस्याल प्रथम, लक्ष्मी खनाल द्वितीय र दानमाया अधिकारी तृतीय भएका थिए । म्युजिकल चियरतर्फ अशोक भट्टराई प्रथम, लालुमाया अधिकारी द्वितीय र लक्ष्मी कार्की तृतीय भएका थिए भने व्हिलचियर दौड तर्फ मोहन गिरी प्रथम, विक्रम राना र गितादेवी बरुवाल द्वितीय र रामबहादुर भुसाल क्षेत्री तृतीय भएका थिए । त्यसै गरि चित्रकला प्रतियोगिता तर्फ कर्ण बहादुर सारु प्रथम, चिनमाया सारु मगर द्वितीय र जमुना रेश्मी मगर तृतीय भएका थिए । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद सहित मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर भित्रका १०० जना भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उदघाटन सत्रको सहजीकरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका निर्मला पौडेलले गर्नुभएको थियो ।